कविता : भरिया, ज्यामी, इत्यादि

~क्षेत्र प्रताप अधिकारी~Chetra Pratap Adhikari

डोकोमा गाउँ बोकेर
उकालो लागेको धनमान
ठाँटी पाटीमा कतै
एक बर्को शान्ति ओढेर
निर्धक्क
थकाइ निदाउँछु भन्छ
भरियाले चाहेको त्यत्ति हो ।

डल्ला फर्काइफर्काई घाममा
अधियाँ जोतिरहेको हर्षबहादुर
सुस्केरा रोपेर टारीमा
जीविका फलाउँछु भन्छ
ढिँडो खाने बेलामा अलिकति
शान्तिको सितन चाहियो
हलीको इच्छा त्यत्ति हो ।

खसीको आँखामा
खुसी हुर्काएर
दसैँ पर्खिरहेका केटाकेटी
पारि पाखातिर
चितुवा कराएपछि
हारगुहार मागिरहेछन्
गोठालाको अनुनय त्यत्ति हो ।

औँला रोपेर असारमा
सहकाल कोरलिरहेका
रोपाहारहरू भन्छन्-
असिना आएन भने
पसिना फल्छ
सुरक्षाको छाता चाहियो
खेतालाको विनय त्यत्ति हो ।

दिनभरि
ढुङ्गा फुटाएर गिट्टीमा
जीवन खोजिरहेकी
द्वन्द्वपीडित विधवालाई
टुहुरा छोप्न रातभरि
एक मजेत्रो शान्ति देऊ
ज्यामीले मागेको त्यत्ति हो ।

(स्रोत : कान्तिपुर – नेपाल साप्ताहिक १३६)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.