कविता : निन्द्रा

~आस्था लस्पाली सुनुवार~

मैले सुनें – उठ !
सबै उठे – जाराकजुरुक !
कोहि आधा निन्द्रामै उठे
कोहि निन्द्रा पुराएर उठे
कोहि निदाउन नपाइ उठे ।
जबरजस्ती निदाउन लगाए हामीलाई
ननिदाए –
चिसो खोरमा कोच्ने धम्की दिए
भोकभोकै बस्नुपर्ने धम्कि दिए
बिष खुवाएर मार्ने धम्की दिए
हामीलाई निन्द्रा नलाग्दा,
हामी निदाउँदिनौ भनिऊँ
तर हामीलाई –
जबरजस्ती निदा भने
जबरजस्ती गोठमा सुत्न लगाए
खोलामा निदाउन लगाए
डबकामा निदाउन लगाए
कटभित्रको माटोको भाँडोमा कोचारे
माछा मार्न लगाए
आफ्नै जंगल फांड्न लगाए
आफनै घरमाथिको पहरा पैरो जाने बनाए
हामी डरले निदायौं
हामी इच्छाले पनि निदायौं
हामीलाई निदाइरहने बानी पनि लगाए
हामी निदाएको मौका छोपी
हाम्रो –
भाषाको हत्या गरे
बाजेको हत्या गरे
सामाजिक संरचनालाई कुँजो बनाए
संस्कृतीलाई लँगडो बनाए
हामी मज्जाले नै निदाइरहँदा
उनीहरुले –
अचम्मैसंग रमाइलो गरे
छानीछानी हामीलाई अशिक्षाको भाला हाने
रोजिरोजि बुकीफूल सिउरिए
उफ्री उफ्री हाम्रो पसिना लुटे
हामीलाई रित्तो नाङ्गो बनाए
हामी निदाइरहयौ
हाम्रो सर्बस्व लुटे
तर, हाम्रो भोक लुट्न सकेनन्
आखिर
निन्द्रामै भएपनि भोक लाग्दो रहेछ
हामी निदाई रहेको बेलामा पनि भोकायौ
हामी भोको बस्नु हुन्न भनेर उठिरहेका छौं
हामी नाँगो हुनु हुन्न भनेर उठिरहेका छौं
हामी भाषाबिहिन हुनुहुन्न भनेर उठिरहेका छौं
हाम्रै सामाजिक संरचनालाई प्राथमिकता दिन्छौ भनीरहेका छौं
हामी आफैलाई शासन गर्छौं भनेर उठेका छौं
हाम्रो आँखामा लागाईएका नेलकडी चुँडाल्न उठिरहेका छौं
हाम्रो मस्तिष्कमा पोतिएको दासत्वको लिसो उप्काउन उठिरहेका छौं
हाम्रा शोषकहरुलाई बदला लिन उठिरहेका छौं
हामीलाई कुंजो पार्नेहरुलाई छानीछानी मास्नका लागि उठिरहेका छौं
हामी किताब लेख्न उठिरहेका छौं
हाम्रा सन्ततीलाई पढाउन उठिरहेका छौं
यसरी हामी उठिरहँदा
हामीलाई जिउँदै मार्ने अपराधीहरु डग्मगाइसकेका छन्
भाग्लाभग्ला जस्तो गर्दैछन् – भाग्न दिनु हुन्न
हामीमाथि राष्ट्रीयता नाउँको आगो फालेर भस्म बनाउन खोज्दैछन् – हामी अब जल्नु हुन्न
हामीलाई एउटा हातमा लड्डु देखाएर तरवार लुकाएर आउँदैछन्
हाम्रो खुट्टामा अझै आतंकबादको घुयेंत्रो घुइकाउंदैछन् – त्यसलाई छेक्नु पर्नेछ
हाम्रो नङ र मासुलाई सियोले रोपिरोपि छुट्याउन खोजिरहेका छन् – दुख्दै भएपनि सियो निलिदिनुपर्ने छ
तर
च्यात्तिन्नौं
हो
हामी उठिसकेका छौं
आधा निन्द्रामा भएपनि,
निन्द्रा पुर्‍याएर भएपनि,
निदाउन नपाउँदै भएपनि,
हामी उठिसकेका छौं
जो जहाँ जहाँ छन् – त्यहिँबाट उठेकाछन्
बस्तिबस्तिमा उठेकाछन्
अक्षरहरुमा उठेकाछन्
सडकहरुमा उठेकाछन्
कोठाहरुमा उठेकाछन्
स्कुलहरुमा उठेकाछन्
बिश्वबिद्यालयहरुमा उठेकाछन्
खेतहरुमा उठेकाछन्
पहाडहरुमा उठेकाछन्
नहरहरुमा उठेकाछन्
हिउँ भएर उठेकाछन्
जंगलभित्र पनि उठेकाछन्
जताततै उठेकाछन्
आवाज भएर उठेकाछन्
निन्द्राबाट बिउँझिएको यो सागरलाई
सलाम !
यसको ज्वारभाटाले तिनीहरुलाई निलिदिनेछन् ।

खबदार !
हामीलाई पैतलामुनि खुल्चेर राख्छु भन्ने बिचारहरु
हामी तिमीहरुलाई अब
तहसनहस बनाउने छौं
केलाई केलाई
तिमीहरुलाई सखाप पार्ने छौं
ति बिचारहरु नमरेसम्म हामी उठिरहन्छौं
ति बिचारहरुलाई मसानघाट नपुर्‍याएसम्म हामी उठिरहन्छौं
ति बिचारहरुलाई खरानी नबनाएसम्म हामी उठिनै रहन्छौं
जब खरानी हुन्छ तिम्रो कालो बिचार
अनि मात्र देखा पर्छ
सुनौलो बिहानीसंगै अर्को उज्यालो
हामीले चाहेको उज्यालो
तिमीले नचाहेको त्यो उज्यालो
त्यो उज्यालोमा तिमीले पनि बाँच्न सिक्नुपर्छ
जहाँ म पनि बांच्न सकेको हुनेछु –
मेरो भाषासंग
मेरो सामजिक संरचनासंग
मेरो पहिचानसंग
मेरो स्वधिनतासंग
मेरो स्वायत्ततासंग
र,
तिमी पनि म जसरी नै
बाँच्न सक – तिम्रै ढंगबाट
युद्धले डाम्ने कोशिस नगर यो घर्तीलाई
अन्यथा
हाम्रा उठिसकेका आवाजहरु
आगो भएर उठ्नेछन्
बन्दुक भएर पनि उठ्नेछन्
बुझिराख ।

(स्रोत : Sunuwar.org)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.