~लक्ष्मी प्रसाद देवकोटा~
क.
यिन गिरिमा, हो
सभ्यताका नीला, गाढा, प्रकृत गढमा,
फरफर पताका, शाखा !
बल्लीहरुको दरबाजामा,
फूल छन् पहरा लाखाँ !
ख.
शीतलताको दरवार बनाई
वन–रानी,
वायु–पङ्खी अख–परीसँग,
सुन्छिन्,
सुन्दर बादल–कहानी !
ग.
वृन्दावनका मुरली सम्झी
दल नाच्छन् !
महेश खोलो, पाषाण तरङ्गी
ओर्लिरहन्छ, ओर्लिरहन्छ,
त्रिशूली, त्रिशूली बोलिरहन्छ, कुर्लिरहन्छ,
भेट्न सधैंभर, नअघाई,
उर्लिरहन्छ, उर्लिरहन्छ !
अगणित भेट र अविरल ध्वनिहरु,
प्यारका जोडी, युगयुग, तटमा,
साँच्छन् !
घ.
पर छन् ईँट, पर छन् चून !
बोधा, अन्धा !
रानीवन छन् अविकृत युगकी
मिरमिर कहानी सानी–
जसकी दिदी हुन् वृन्दा !
ङ.
होला कोही मिरमिर कहानी–
कसरी कुनै दिन क्वै नानी,
यस वनकी फूल, उटज फुलेकी,
भइन् जगतेकी रानी !
च.
यिनका दिल छन् ढुक्कुर, ढुक्कुर !
यिनका बोली, जुरेली !
भरखर बोली एक हाँगामा
एउटी प्यार–सुरीली !
छ.
यस खोलाका लहराभित्र
लाग्छन् चिचिल्ला मन–रसका !
प्रकृतिरानीको राज्य पवित्र !
शहर–उपल्ला यी स्तरमा छन्
चोखा कुसुमहरु दिल–खुशका !
झुठा हाम्रा व्यापारहरुकन
छन् झल्का !
ज.
ए खोला ! दे करले लेखी
सुन्दर एक शिलापत्र !
एक बटुवाको नागरिकताको
इच्छा एक विचित्र