~जीवन क्षेत्री~
ए युवाहरू
मध्य दिनसम्म घुर्दै कति सुत्छौ ?
अब त उठ ।
आकाशमा बादल मडारिरहेछ
भ्यागुताहरू कराइरहेछन्
घिस्रिँदै आउँदै गरेको अजिङ्गर देखेर
नानीहरू आत्तिँदै कराउँदैछन्
आँखा र मुखमा पट्टी बाँधिएका
विवश आमाहरू
अस्पट–अस्पट बर्बराइरहेछन्–
‘कोही त बचाऊ’
आततायीहरूका प्रहारले टाउका फुट्ने डरले
जीवनै फुट्ने गरी कतिञ्जेल सुत्छौ ?
समाजै टुट्ने गरी कतिञ्जेल सुत्छौ ?
कर्कलाको पानीजस्ता अगुवाहरूलाई दोष दिएर
कतिञ्जेल निदाएको अभिनय गर्छौ ?
मनमा छट्पटि र क्षोभ लिएर
दुई बारको जीवन जाला भन्ने डरले
सयौँ जीवन बेकसुर मारिएको
चुपचाप सहँदै कति सुत्छौ ?
आमाको काख रित्तेला भन्ने डरले
हजारौँ आमाहरूका आँखामा आँशु हेर्दै
नदेखेजस्तो गरी कति सुत्छौ ?
अवसरवादी चङ्गाहरूको खेलौना बन्ने डरले
हत्याराहरूको साम्राज्यलाई मौन समर्थन दिई
अन्धकार भविष्य हेर्दै
अमिलो मन लिएर
आफैँलाई धिक्कार्दै कति सुत्छौ ?
टुटेको मन, फुटेको आस्था
टुक्रेको आँट, जमेको रगत लिएर
कसैले देश बचाइदेओस् भनेर
चन्द्रमाको व्रत बसेर कति दिन कुर्छौ ?
भोलि,
न हत्याराहरूले तिम्रो मौनताको पुरस्कारस्वरुप
तिम्रो समाजलाई समृद्ध बनाइदिनेछन्
न तिम्रा चन्द्र भगवान्ले तिम्रो रक्षा गर्नेछन्
भोलि,
तिमी जस्तै युवाहरूका
नाङ्गा हात र आँटिला छाती अगाडि
तिर्मिराएर हत्याराहरूले
जब हतियार चलाउनेछन्,
सडकमा रातो रगत बग्नेछ
अनि तानाशाहरू ढल्नेछन्
जो मरेर गए, ती अमर हुनेछन्
र लुते कुकुर सरी तिमी जो बाँच्यौ,
बाँचेर पनि मर्नेछौ
तिम्र्रो आत्मा जलिरहनेछ,
अजिङ्गर, नानी र विवश आमाका विवम्वहरू
तिमीलाई पछ्याउनेछन्
अनि ढिलो गरी तिमीले भन्नेछौ–
म बाँचेर पनि मर्न चाहन्न,
म मरेर बाँच्न चाहन्छु ।
(स्रोत : रचनाकारको ब्लगबाट सभार)