~बाबुराम पन्थी ‘गुल्मेली’~
मधुर सूर्यको प्रकाशको आगमनले
जन्म लिने प्रत्यक सुन्दर बिहानी संगै शुरू हुने
प्राकृतिक चिर्विर आवाजहरू
सुनौलो किरण संगै
बैश फक्रिएका बगैचाका सुन्दर फूलका
बगैचाहरू कतै रमाउँदैन आजकल
मेरो एक्लोपन
दोपहरको चर्को किरणबाट तर्किदै
शितल ताप्ने ति छाहारीमा पनी
शितलता भेट्दैन आजकल
मेरो एक्लोपन
सूर्यको बिश्राम पछीको यी शहर चोकका
ठुला ठुला डिजिटल डिस्प्लेहरू
सडक किनारका रंगिन बत्तीहरू
ध्यान भंग गर्न नाकाम छन् आजकल
मेरो एक्लोपन
प्राकृतिक संगीत संगै नाच्दै
किनार चुम्न आउने समुन्द्री छालहरूले पनी
आकर्षण गर्दैन आजकल
मेरो एक्लोपन
तिमीलाई खोजिरहने मन सम्हाल्न
एकान्तमा टहलिदा जुनेली रातहरूमा
चन्द्रले तप तप शित खसाली दिंदा
लाग्छ बुझेर रोइरहेको आजकल
मेरो एक्लोपन
तिमी बाट टाढा भएर बस्नु पर्दा
यो सुन्दर प्रकृतिका हरेक परिदृश्यहरू
शव दहन पश्चात
मलामीहरूले छाडेको मसानघाट भन्दा विल्कूल
फरक लाग्दैन आजकल
मेरो एक्लोपन
बाबुराम पन्थी ” गुल्मेली ”
तम्घास गुल्मी
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )