पुस्तक समीक्षा : ‘आदर्श’ को आदर्श

~शिव रेग्मी~

सन् १९३० जनवरी महिनादेखि कालिम्पोङबाट शेषमणि प्रधानको सम्पादनमा ‘आदर्श’ मासिक पत्रिकाको प्रकाशनको थालनी भएको थियो । भनिन्छ ‘आदर्श’ कालिम्पोङबाट प्रकाशित पहिलो पत्रिका हो !”यसमा साहित्य, कला, खेती, व्यापार, धन्धा, शिक्षा, कोअपरेटिभ, बैङ्क आदि विषयसँग सम्बन्ध राख्ने व्यावहारिक र सामयिक लेख औ समाचारहरू रहनेछन् ” भन्ने आदर्शको नियममा उल्लेख भएको छ ! अतः यो पत्रिका साहित्यिक मात्र नभइकन सबै विषयसँग सम्बन्धित थियो ! यसको उद्देश्य नै समाजलाई हरक्षेत्रबाट आदर्शमय बनाउनु रहेको थियो ।

उत्तम रुचि उत्पन्न गराउनलाई यस पत्रको ‘आदर्श’ नाउँ राखेका हौँ । अङ्ग्रेजीमा ‘IDEAL’ शब्दले जुन अर्थ प्रकट गर्छ ‘आदर्श’ले पनि सोही भाव प्रकट गर्छ । जुन चालचलन, जुन काम, जुन विचार अथवा जुन कुरा कसैले गरेको देखेर हामीलाई पनि त्यसको अनुकरण गर्ने इच्छा लाग्छ अथवा रुचि हुन्छ त्यस अवस्थालाई ‘आदर्श’ मानेर सो रुचि उत्पन्न हुन्छ । हामीले पनि आफ्नो सुधार गर्नलाई सबैभन्दा उत्तम विचार लिई त्यसैको अनुसरण गरी कामले देखाउनु पर्छ तबमात्र हाम्रो उत्तरोत्तर सुधार हुँदै जान्छ ।

अहिलेको अवस्थामा हामीलाई विद्या, व्यापार, धन्धा, खेतीपट्टि विशेष ध्यान दिएरमात्र हाम्रो अवस्था सप्रँदै जाने हुनाले हाम्रो आदर्श (सबैभन्दा उत्तम) विचार पनि त्यस्तै छ । अब त आदर्श नाउँ राख्नको अभिप्राय छ्याङ्गै भयो हो-भन्दै सम्पादकीय प्रकाशित छ अङ्क दुईमा !

‘आदर्श’ ले त्यतिखेरको जनमानसमा राम्रै प्रभाव पार्न सफल रहेको पुष्टि हुन्छ । प्रथम अङ्कको प्रकाशनपछि -‘आदर्शपत्र’ सानो भयो, यसको पृष्ठ सङ्ख्या बढुवा हुनुपर्ने, यसमा रङ्गीन, सादा चित्रहरू पनि हुनुपर्ने, भन्ने ‘आदर्श’का प्रेमीहरूको विचार हाम्रो अफिसमा आएको छ । यो विचार प्रशंसनीय हो, उचित हो तर आदर्शको खर्च विचार गरेर मात्र माथि भनेका कुरामा ध्यान दिन सकिन्छ । ऐल्हेको आकार, रूप, रङ्ग, ढङ्गको खर्चमात्र पुर्‍याउनुलाई ५०० ग्राहक चाहिन्छन् ।

यसको पृष्ठसङ्ख्या ः बढाउनलाई १,००० ग्राहक चाहिन्छन् । रङ्गीन सादाचित्रहरू दिनलाई १,५०० ग्राहक चाहिन्छन् औ सम्पादक र मैनेजरहरूको खर्च उठाउनलाई २,५०० देखि ३,००० सम्म ग्राहक चाहिन्छन् । सबैले मिलेर ग्राहक सङ्ख्या बढाइदिनुहोस् यसको उत्तरोत्तर उन्नति स्वयं हुँदै जानेछ । जो दया ! सम्पादकीयले यस कुराको पुष्टि गर्दछ । ‘आदर्श’ का अङ्कहरूमा प्रकाशित केही उल्लेख्य लेखरचनाहरूमा सूर्यविक्रम ज्ञवालीको भगवान् बुद्धको जन्मस्थल, पृथ्वीनारायण शाह, पारसमणि प्रधानको हाम्रो समाज र साहित्य, सरस्वती स्तुति पञ्चक, महाभारत तथा भूगोलसम्बन्धी छन् भने शेषमणि प्रधानका मेवाको खेती, हाम्रो समाज र प्राथमिक शिक्षा, सुन्तलाको खेती, गाईगोठको बन्दोबस्त जस्ता लेख प्रकाशित छन् । रूपनारायण सिंहको उपन्यास र गल्प, शङ्खमणि प्रधानको तिब्बती चित्रकला र हिन्दुस्तानी चित्रकला, शिल्पकार कृष्णबहादुर गुरुङको विद्यार्थीहरूका रदाक (माता-पिता आदि) को र गुरुहरूको सम्बन्ध, के.डी. प्रधानको ‘कोइला’ आदि लेख निबन्धहरू उच्चस्तरका छन् । महानन्द शर्माको ‘प्रकाश’ कविता प्रकाशित छ ।

नेपाली साहित्यिक पत्रपत्रिकाको स्थिति र यसको इतिहास अध्ययन गर्दा थालनीमा जुन उत्साह र उमङ्गले चारैतिरको हौसला र प्रेरणाले सम्पादकीय लेखिन्छ दुईचार अङ्कको प्रकाशनपछि कतैतिरबाट पनि प्रेरणा र प्रोत्साहन त के कुरा, सामान्य सहयोगसमेत नपाएपछि निराश भएर सम्पादकीय लेख्नुपर्छ-अब हाम्रो अर्को अङ्क प्रकाशन हुँदैन भनेर ! नेपाली पत्रपत्रिकाको नियति नै यस्तो छ । यही अवस्था ‘आदर्श’ को ८ अङ्कमा आएर भएको छ ।

“साहै्र दुःखको कुरो ‘आदर्श’लाई जसरी तसरी आठ महिनासम्म आफैँ लेख लेख्दै आफैँ अमूल्य समय र धनको हानी खप्दै समयमा प्रकाशन गर्न नसके तापनि अवकाशको बेला गर्दै प्रिय पाठकहरूका करकमलमा पुर्‍याउन लागेका छौँ तर आठ महिनासम्म न त ग्राहक सङ्ख्या नै भनेजस्तो छ, न त कोइ अघिपरी यस पत्रलाई मनोरञ्जक बनाउन सहायता पुगेको छ – भन्दै ‘आदर्श’ सदाको लागि बन्द भयो ।

‘आदर्श’ ले कालिम्पोङको मात्र होइन नेपाली समुदायको आदर्श औँल्याएर जातीय विकासको निम्ति अपनाउनुपर्ने आवश्यक कार्यक्रम प्रस्तुत गर्‍यो’- र सन्दर्भ साहित्यः कालिम्पोङ, (पृष्ठ ३१) भन्ने दयारत्न शा.भि.को भनाइलाई अघिसार्दै ‘आदर्श’ को आदर्श यहाँ सम्झन सकिन्छ !

‘आदर्श’ ले त्यतिखेरको समाचारसमेत प्रकाशित गर्ने गरेको देखिन्छ । चन्द्रशमशेरको पालामा सुरु भएको नेपाल-भोट बीचको कचिङ्गलको ब्रिटिसको सहयोगमा सुलह भएपछिको समाचार ‘आदर्श’ अङ्क-३ मा प्रकाशित छ, जुन समाचार साप्ताहिक ‘गोरखापत्र’ बाट साभार गरी छापिएको देखिन्छ । यस्तै अर्को समाचार, कलकत्तामा राजा जयपृथ्वीबहादुर सिंहले मानवतावाद (Humanism) को सम्बन्धमा दिएको भाषण बहादुरशमशेर, विष्णुशमशेर, भुवानीशमशेर, दमनशमशेर, हेमबहादुर बस्नेत आदि नेपालीहरूले सुनेको व्यहोरा उल्लेख छ ।

‘आदर्श’ अङ्क-४ मा अम्बिकाप्रसाद उपाध्यायको नेपालको इतिहासको ‘समालोचना’ स्तम्भमा कृति परिचय दिइएको छ भने गोर्खा साहित्य माला कार्यालय, बनारस, सिटिले छापेका-महासती अनसुया, सती सावित्री, प्रतिव्रता मनसादेवी, सत्य हरिश्चन्द्र र स्थमन्तक मणिकथाका परिचय ‘सूर्य’ नाममा दिइएको छ ! यो सूर्य सूर्यविक्रम ज्ञवाली नै हुनुहुन्छ ।

(स्रोत : मधुपर्क २०६८ जेठ)

This entry was posted in पुस्तक समीक्षा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.