कथा : नाम ? उमेर ?

~सिमियोन रोक्का~Simiyon Rokka

आमा बिरामी हुनु भएछ, मलाई घरबाट फोन आयो । मैले सामान्य बिरामी होला भन्ने सोचेर सिटामोल खाएर आराम गर्नलाई भने र आफ्नो काममा नै लागि परे ।

कामको प्रेसर ज्यादा थियो । बिहान बेलुका खाना खाने समेत फुर्सद हुने थिएन ।

राती अबेर सम्म काम गर्नु पर्थ्यो । मेहनत पछाडिको निद्रामा लागेको सपनाले जीवनलाई पूर्णता तर्फ धकेल्छ रे ।

अफिसबाट काम सकाएर कोठामा जादै थिए ।

मोबाईल हेरे, ११ मिसकल भईसकेछ । खै कती बेला देखी साइलेन्ट्समा रहेछ कुन्नी ! मैले घरमा फोन लगाए, भाईले अतालिदै भन्यो, ‘आमालाई अस्पताल ल्याउदै छु । तपाईं अस्पतालको गेटमा पर्खेर बस्नुहोस् । ‘

म स्तब्द भए । कोठातिर बढेका पाइलाहरु अब अस्पताल तिर मोडियो ।

गेटमा पुगे र छटपटिदै भाई र आमालाई पर्खिरहे ।

एक छिन पछी मेरो नजिक नै एउटा एबुलेन्स रोकियो । आमा अचेत अवस्थामा हुनुहुन्थ्यो । पहिले आमालाई ईमर्जेन्सी भित्र बेडमा सुताईयो । एम्बुलेन्सलाई हातमा पैसा राखीदिएर म ईमेर्जेन्सी टिकेट काउन्टर तिर दौडिए ।

टिकेट काउन्टरमा कोही थिएन । मैले आवाज दिए । एक जना अधवैशे आईमाई केही खाँदै हात पुच्छदै आईन र सोधेन

नाम के हो ?

मैले भने “माइली “

माइली के हो ?

माइली नेपाली

उमेर

(म अकमकिदै ) उम् उम्म- ३५, ३५

उसले एउटा कागज हातमा दिईन र म त्यो कागज लिएर डाक्टरलाई भेट्न गए ।

आमालाई इमर्जेन्सी र केही दिन वार्डमा राखेर घर लाइयो ।

आमालाई दिर्घ कालिन टाउको दु:खाइको समस्या सुरु भयो ।

जती बेला पनि टाउको दुखेर आमा बेहोस पर्न थाल्न भयो । टाउको दुख्न सुरु हुने बित्तिकै प्रेसर पनि बढ्थ्यो । मैले आमालाई निरन्तर उपचार गर्दै गए ।

इमर्जेन्सीमा त कतै ओ पि टि मा आमालाई निरन्तर देखाईरहनु पर्थ्यो ।

हस्पिटल जादा जहिलै टिकट लिईराख्नु पर्थ्यो ।

एउटै प्रश्न र एउटै खाले जवाफ

नाम ?

उमेर ?

माइली र ३५ बर्ष

आमालाई मैले कयौ पल्ट हस्पिटल लगे । बर्षौ बर्ष सम्म आमा थलिनु भयो । टिकट काउण्टरमा काम गर्नेहरु संग पनि यि बर्षहरुमा मेरो राम्रो सम्बन्ध भईइसकेको थियो । तर जती नै सम्बन्ध भए पनि टिकट काट्न लाग्दा एउटै प्रश्न हुन्थ्यो

नाम ?

उमेर ?

अनी मेरो एउटै जवाफ

माइली नेपाली

३५ बर्ष

एक दिन अचानक मेरो टाउको दुख्यो । मलाई कता कता डर लागेर आयो । कतै आमालाई जस्तै ……!

म आँफैमा अतालिएर हस्पिटल पुगे । टिकट काउन्टर मा

नाम ?
सुजित, सुजित नेपाली
उमेर : ३५

म झल्यास भए । मेरो उमेर पनि ३५ बर्ष भईइसके । घर आए र आफ्नो सबै पुरानो अस्पातलका कागजहरु निकाले । म सानो हुँदा देखि कै अस्पतालका कागजहरु राखिएका थिए । जहाँ म ६ महिना हुँदा ६ महिना र न १ बर्ष को हुँदा १, २ हुँदा २ र जती जती उमेरमा उपचार गरायो त्यती त्यती नै उमेर लेखिएको थियो ।

मैले आमाको अस्पातालको कागजहरु निकाले । आमालाई उपचार गराउन थालेको ७ बर्ष भएछ । जहाँ मेरो आमाको उमेर ३५ को ३५ नै थियो । जब कि म आँफै ३५ बर्ष भाईइसकेछु ।

मैले आमालाई सोधे, ‘ आमा तपाइ कती बर्ष हुनुभयो ? ‘

खै थाहा छैन बाबु ! त र म मा १७ बर्ष को फरक छ । अहिले त ३५ बर्ष भईस अब आँफै हिसाब गर्न ।

मेरो आँखा बाट अन्यायसी आशु खसेर आयो ।

(हामी धेरैलाई आफ्नो आमा बुवाको उमेर थाहा हुँदैन । तर हरेक बाबु आमालाई आफ्नो सन्तानको उमेर थाहा हुन्छ । शायद कसैले त्यही भएर भनेका होला आमा बुवाको मन छोराछोरी माथि छोराछोरीको मन ……….. )

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.