~केडी रेम्नीसीङ~
‘ए सर, घाम ताप्न आउनुस् है…’
हो त नि हामी घाम ताप्नै आउँछौ,
काम गर्न होइन,
सकेसम्म जागिर खान पो त,
जागिर खानलाई हाजिर गरे पुग्छ,
काम होइन ।
‘ए दाई, चिया बनाएर ल्याउनुस् त,
एक फन्का खाम्…’
हो, यिनीहरु चिया बनाउनै आका हुन्,
चिया बनाएर हामीलाई खुवाउन,
अनि हाम्रा गफ सुन्न आका हुन्,
र सही थाप्न पनि ।
‘तपाईँको यो कागज पुग्या छैन,
फेरी पछि आउनुहोस्,
अहिले जानुहोस्…’
हो, जनतालाई हप्काउनु,
हाम्रो नैसर्गिक अधिकार हो,
हामी त शासक हौ,
सेवक होइनौँ त ।
‘यो सरकारले पनि कामै गरेन,
यस्तो गर्नुपर्नेमा, उस्तो गर्छ…’
मानौ, सरकारको आलोचना गर्नु,
हाम्रो मौलिक हक हो,
हामी सरकारको कामदार होइनौ,
हामी त सरकारको पथ प्रदर्शक पो ।
‘फलानाको सिद्धान्त यस्तो छ,
चिलानाको कार्यशैली उस्तो छ…’
हामी त कुशल विश्लेषक हौँ,
हामी जस्तो महान् विचारक,
को पो छन् र?
मानौ हामी नै हौ,
खगेन्द्र संग्रौलाका बाजे,
सुरेन्द्र केसीका दाजु,
पारिजातको गफ हाँक्ने,
चिया पकाउन लगाउने,
भूपी शेरचनका अन्धो मान्छे,
जो घुम्ने मेचमाथी बस्छ,
शासनको परिचारिका होइन,
शासनको चालक हौँ,
हामी जो हौँ सो हौँ,
हामी…
– सोलुखुम्बु
(स्रोत : रचनाकारको ब्लगबाट सभार)
