~राजेन्द्र खरेल~
माघ महिना, रातिदेखि हावाहुरीसहित परेको पानी मध्यान्नपछि रोकिएको थियो । लामीडाँडाको सिरानतिर एकैछिन घाम झुल्केर बिस्तारै अस्ताउँदो थियो । साहु रामप्रसाद दलिनमा रहेको कुर्सीमा बसेर नजिकै देखिने (दूरीमा भने टाढा !) स्वर्गद्वारी र होलेरी लेकमा हिउँले ढाकिएर सेताम्य भएका सल्ला र बाँझका रुखहरु एकटक हेर्न थाल्यो ।
‘जदौ बर्जु !’
साहुको अगाडि रातो (मयलले कालो भएको) बर्कीले बाँधिएको कुम्लोे बोकेको धने गन्धर्व प्रकट भयो । धने गन्धर्व साहुको आँगनमा आयो र कान्लाको अडेस लगाएर कुम्लो बिसायो ।
५–६ वर्षको देखिने उसको नाति रुँदै उसलाई पछ्याइरहेको थियो । (आजभोलि उक्त बच्चा १०–११ वर्षको भयो होला ।)
धने जतनका साथ सारङ्गी एकापट्टि राख्यो ।
‘यो नानी तिम्रो नाति हैन र धने दाई ? किन रुन्च ?’ रामप्रसाद साहुले सोध्यो ।
‘भोकाएर रोया होला, अचालका केटा’टी नि कस्ता काँ दोकान छ, काँ खाना छ पैलाएर रुन्चन् । एउटा चाउचाउ दिनुस् तो बर्जु ।’ धनेले अनुरोध ग¥यो ।
‘माएर चाउचाउ पाइन्न, हामी बाँड्न बस्या हैनम्, बेपार गर्न बस्या हुम् । तिम्रो गाइने भाग ता अस्तिनै द्या हो नि !’ साहुनी चर्की ।
‘पैसा दिम्ला, एउटा चाउचाउ दिनुस् बर्जु ।’ फेरि पनि धनेले विनय ग¥यो ।
उता बच्चा भने झन जोडले रुन थाल्यो । पैसा दिदैन भन्ने ठानेर साहु साहुनी आफ्नो आसनबाट डेग चलेनन् । धनेले ट्राउजरको गोजीमा हात हाल्यो । अनि पाँच र दशका नोटहरु निकाल्यो ।
‘पैसा त यो लटाँ राम्रै उठाएचौ तो ।’ साहु बोल्यो ।
‘के कमाइ होला बर्जु ! कुम्लामा पाथी चार मकै छ । अरु यइ पैसा । चार दिन चार गाउँ डुलेर जम्मा ग¥या ।’ सत्तरी ढिकढाकका जोर आँखा चम्काउँदै धनेले पैसा गन्न थाल्यो ।
‘पाँच, दश, बीस, पचपन्न । पचपन्न रुप्पे भएच बर्जुु ।’
क ख रा सिक्दै गरेको बालकले लेख्दै कोर्दै गरेको कापीजस्ता देखिने उसका ओठहरु चले ।
बच्चाले रुवाइको भोलुम बढाउँदै लामो लेघ्रो तान्यो, ‘आमा…!’
‘किन आमा पुकार्छस् कैले ? तेरो मय भा’ भए बर्षिको दुदे बाल्खलाई छोडेर पोइल जाँदी हो त्यो जाँ…’ धनेले कैलेकी आमाप्रति बिकार पोख्यो ।
नोटहरुबाट दशको नोट टिपेर साहुलाई थमाइदिदै दोहो¥यायो, ‘एउटो चाउचाउ दिनुस् तो बर्जु, कैले हिजो साँजबाट भोको छ बरा ।’ साहुले साहुनीलाई इसारा ग¥यो ।
साहुनी घरको उपल्लो तलामा रहेको पसलतिर लागी । धनेले गोजीबाट एउटा चुरोटको ठूटो निकाल्यो अनि जलाएर तान्न थाल्यो ।
धनेको हातमा रहेको पैसा देखेको साहु बोल्यो, ‘जाडो बेलाँ जीउ तताउन परो दाइ । तातो खान्चौ ?’
‘५५ रुप्पेमा १० रुप्पे चाउचाउमा गइयो, ४५ रुप्पे ता नुन तेल खर्च नि चाइयो । फेरि ४५ रुप्या के तातो आउँदो हो ?’ धनेले व्यथा र सङ्खा एकै पटक व्यक्त ग¥यो ।
‘किन नआउनु ? ३५ रुप्पे जानी नयाँ प्लास्टिक बोतल रक्सी आ’छ, मगाइदिम् ? …ओइ बिज्या आमा एउटा प्लास्टिक बोतल रक्सी नि ले तो ।’
धनेको प्रतिक्रिया नसुनी साहुले रक्सी मगायो ।
***
“कस्ती आमा रइचे, यति नाम्रो बाल्खलाई छोडेर पोइल जानी । अछूतको नानी प¥यो र बो नत्रता मैले जो पाल्थें ।”
एकैछिन वातावरण मौन रह्यो । धनेले हातको रक्सीको बोतल एकटकले हेरिरह्यो । ४० रुपैयाँ साहुनीलाई दिदै भन्यो, “बँच्या पाँच रुप्प्या नम्किन दिनुला ।”
कैलेले चाउचाउ फोक्यो अनि झटपट खान थाल्यो मानौं उसले जन्मेदेखि पहिलोपल्ट खाना देख्दैछ ।
धनेले साहुलाई सोध्यो, “बर्जु, तबइको छोरा (को) पुत्बडे (पुत्र बढाइँ) मैले झा¥या हुम । अइले ता ठुलै हुनु भा’ होला ! काँ हुनुहुन्च ? मास्टर बन्नु भओ कि डाक्टर ?”
“इन्जिनियर भा’छ । अचाल बजारमा बस्छ । आउने बैसाखमा ब्या गर्दिने सोच हो । नातिको पुत्बडे नि तिम्ले झार्ने हो बुडा ।” साहु उत्साहित देखियो ।
“म त अब धेरै के बाँचम्ला र ? यही जाडो कटाए भाग्य । तबइको नातिको पुत्बडे कैलेले झार्ला बर्जु तबइको छोरा र कैल्या बाउ सङ्गैका हुन् । तबइको छोरा ‘इनजेन’ हो कि के जाति बन्नुभएछ, मैले ता छोराको लास नि देख्न पाइन ।” उज्याला उसका आँखा टिलपिल भए । धनेको बोलीले साहुलाई पनि असहज भएछ क्यारे, उसलाई सान्त्वना दिँदै बोल्यो, “बित्या कुरा किन कोट्टाउँचौ ? यति नाम्रो नाति छ । अब यसलाई हुर्काउने बडाउने ।”
“बर्जु ! उँभेलिमै जा’न मरी । टु’रो छोरालाई पालेर बसें । अब कमौला सुखका दिन आउलान् भन्ने बेलाँ छोरो नि… कैली ता त्यई माडीमा हाम फालम् जस्तो हुन्च तर यही कैलेको मुख हेरेर…”
साहुनी नम्किन लिएर आइपुगी ।
धनेले रक्सी गिलासमा खन्यायो र नम्किनको पोको फो¥यो । नम्किनको सितनसँग एक गिलास रक्सी एकै सासमा घुट्कायो ।
“सुस्तरी खाउ दाइ बुडो जीउले यस्तरी रक्सी खा’को सन्न क्या ।” साहुनी बोली ।
“गाइने हुम् बर्जु । जाँडको घैंटोमा चोंचों लाउँदै हुर्कें । जाबो एक बोतल रक्सीले के छुदों हो ? काँ हरावो काँ हरावो ।”
साहुनी नबोली हाँसेर प्रतिकृया जनाई ।
धनेले सारङ्गी बजाउँदै गाउन थाल्यो–
“माझी दाइले माछा मा¥यो नदी किनारैमा
भावीले के लेख्यो बरै यसै निदारैमा ।”
धनेको बूढो शरीरमा बिस्तारै मात चढ्दै थियो । कैले भने चाउचाउको प्याकेट टक्टाउँदै थियो ।
“बर्जु अर्को बोतल दिनुस् तो ।” धनेले साहुलाई भन्यो ।
“तिमीसित पाँच रुप्पे मात्रै छ, पाँच रुप्पेमा काँ रक्सी पाइन्च?”
“पैसा दिन नसके मकै राख्नु, चार पाथी मकै छ । २५ रुप्पे पाथीको दरले एक सय रुप्पे हुन्च ।”
“हुन्न हुन्न, जिनिससित माल साट्ने ग¥या छैन ।”
“हे ! साहुजी खुरुक्क मकै राखेर एक बोतल दिनुस् तो । मकै बेचेर नि ता पैसै आउँच ।”
धने बर्जुबाट साहुजीमा झरेको थियो । स्पष्ट थियो अघिल्लो एक बोतल उसमा चढिसकेको थियो ।
साहुले एकछिन केही सोच्यो अनि साहुनीलाई बोलायो, “बिज्या आमा अर्को एउटा बोतल ल्याइदे त ।”
***
फेरि पनि धनेले अर्को बोतल रक्सी रित्यायो । दुई बोतलको नसाले ऊ रङ्गिसकेको थियो ।
सारङ्गीलाई एकापट्टि मिल्काउँदै झ्याउरे गाउँदै नाच्न थाल्यो–
“लाउरे दाइ छुट्टीमा आ’को
हाँसम् बोलम् मौकाले भेट भा’को ।”
धने गाउँदै नाच्दै थियो, कैले भने रुन थाल्यो ।
कैले रोएको सुनेर धने जङ्गियो, “पेटभरि चाउचाउ खा हैन ? किन रुन्चस् फेरि ?”
कैले रुन्चे बोली बोल्यो, “म नि स्कूल जान्चु है बाजे ।”
साहु बोल्यो, “ए दाइ ! नातिले त पढ्छु पो भन्छ त ।”
“हिजो स्कूलमा गीत गाउन गा’को, केटा’टीले पड्या देखेच । म नि पड्न जान्चु भनेर हैरान ग¥या’छ ।”
“सरकारले छोरालाई सहिद घोषणा ग¥या’छ । राहत पनि द्या होला । त्यइ पैसाले नाति पडाउने ।”
“मरी जाउँ सरकारले दिएको एक पैसो देख्या छैन । पैसा जति सप्पै त्यई राँडले बटुली । शहराँ नयाँ पोइसित त्यइ पैसाले मोज गर्दै होली ।” फेरि अर्कोपल्ट बुहारीलाई सराप्यो ।
“हो र ?” साहु आश्चर्यको भावमा बोल्यो ।
“सबै कुकुर काँशी गए… कस्ले खाला । गायनको बच्चाले पडे सारङ्गी बजाउँदै माग्न को हिड्च ? तैले यी… यो साहुको नातिको पुत्बडेमा गीत गाउने, नाच्ने कि कसो साउ ?”
साहु अवाक भयो ।
धनेले साहुतिर हेर्दै बोल्यो, “ए साहु अर्को एक बोतल रक्सी ल्याउ त । यो बिकासी रक्सी ता मिट्ठो रइच ।”
ऊ बर्जुबाट साहुजी हँुदै साहुमा झरेको थियो । दुई बोतल रक्सीको पारो धेरै नै चढेछ भनेर अनुमान लगाउन गाह्रो थिएन ।
साहुले निधार खुम्चाउँदै कड्कियो, “अघिको एक बोतलको पैसा द्या छैनौ । फेरि अर्को बोतल ?”
“चुप लाग साउ । यी यो सप्पै मकै राख, मलै एक बोतल दिए पुग्छ ।” धङ्धङ्गिदै नजिकैको कुम्लोतिर इशारा ग¥यो ।
“लौ यो पाँच रुप्पे नि राख एउटा चाउचाउ देउ कैलेलाई ।” ट्राउजरको खल्तीबाट पाँच रुपैयाँ निकाल्दै भन्यो ।
साहुनी रक्सी र चाउचाउ लिन दोकान कोठातिर लागी । साहु कुम्लो फुकाउन थाल्यो । कुम्लोभित्र एउटा धैसोले कालो भएको धोक्रो थियो । साहुले धोक्रो उचाल्यो अनि लख काट्यो १२ देखि १५ किलो होला । अँध्यारो हुँदै थियो, चिसो बढ्दै थियो । साहु धोक्रो बानेको बर्की एकापट्टि हुत्याउँदै धोक्रो बोकेर घरभित्र पस्यो । साहुनीले एक बोतल रक्सी र एउटा चाउचाउ ल्याएर धनेलाई दिइ । “कस्तो जाडो …!” भन्दै ऊ पनि घरभित्र पसी । घर्लप्प ढोका लगाएको आवाज सुनियो ।
***
धनेले पनि जाडोबाट बच्न बोतलको बिर्को फुकायो अनि गिलास भर्न थाल्यो । कैले पनि आफ्नो कापी र कलमको मागबाट पछि हटेको थियो । चाउचाउमा सहमति गरेर आफ्नो सम्पूर्ण ध्यान र शक्ति त्यतै केन्द्रित गरिरहेको थियो ।
बूढोले आधा बोतल रक्सी सिध्याएपछि बर्बराउन थाल्यो, “मेरो छोरो… सहिद… गायनको बच्चा नि कहीं सहिद हुन्च ? सहिद हुन ता ठूलो मान्छे हुन पर्च… नेताको आफन्त हुन पर्च । कैल्या बा नि कहीं सहिद हो । ऊ त कुकुरको काल म¥यो । कठै बरा गोली लाग्दा कति छट्पटायो होला । कसैले खोलाको किनारमा फाले होला, स्याल गिद्धले लुछेर सके होलान् ।”
बूढो त भावुक भएर रुन थाल्यो । बच्चाले बाजेको कुरा त के बुझ्थ्यो, बाजेको रुवाइले आतङ्कित भयो होला । बाजेको रुवाइमा उसले पनि सुर मिलायो ।
रुँदारुँदै धनेले त्यो बोतल पनि निता¥यो । रक्सी शरीरमा अधिकतम चढेपछि कराउन थाल्यो, “गरीबको दिन… यइ हो साला गरीबको दिन ? ए रिठे… तँ ता मरिस् गरिबकालाई भन्दै… तेरा कम्रेटहरुलाई हेर… तँ कतै छस् भने हेर तेरा नेता’रलाई… कुर्सीका लागि नाङ्गै नाच्ने’रलाई हेर… हेर हाम्रा दिन’रु हेर… चुनावको बेला हात जोड्दै आए भने यी… यही सारङ्गीले बजाइदिन्छु । साले भतुवाहरु… गरीबका छोराछोरीलाई मराएर आफू चाइँ…”
बूढो अगाडि बोल्न नसकी भुइँमा लम्पसार प¥यो । बेहोसीमै उसका ओठहरु हल्लिरहेका थिए, सायद ऊ गालीलाई निरन्तरता दिइरहेको थियो । झमक्कै रात प¥यो । कैलेको रुवाइ बन्द भएको थियो । नजिकै (साहुले फालेको) धोक्रा बेरिएको बर्की थियो । कैलेले बर्की उठाएर भुइँमा पल्टिएको बाजेलाई ओढाइदियो । अलिक पारी सारङ्गी बेवारिसे अवस्थामा थियो । कैलेले बेस्कन सारङ्गी घोट्न थाल्यो । एउटा बेसुरको आवाज निस्कियो ।
जाडोले हो वा सारङ्गीको आवाजले हो धने चल्मलायो अनि बेहोसीमै लर्बरायो, “ए साउ ! मेरो नाति तेरो नातिको पुत्बडेमा सारङ्गी बजाएर गा’न्न । कैलेले पड्च, हाकिम बन्च । ए साउ ! तैले कैलेलाई नमस्ते गर्न पर्च ।” बूढो फेरि चुप रह्यो । उता कैले भने सारङ्गीको गजो समातेर के–के लेखेजस्तो गर्दै भुइँ कोर्न थाल्यो ।
(स्रोत : नयाँ युगबोध दैनिक – सौगात)