~केदार वाशिष्ठ~
जब,
अनिश्वरवादी दर्शन
दृश्य वा अनुभूतिमा पनि
ईश्वरको अस्तित्व मान्दैन
बरु कुनै एउटा आत्मालाई
पूजा गर्न समर्पित हुन्छ
झिकिदिनुपर्छ त्यसबेला
आफ्नो मनबाट आफ्नै मनलाई ।
राख्न सक्नुपर्छ
त्यसको स्थानमा
एउटा पाषाण
अर्थात् एउटा प्रतीक
जसमा ईश्वरको
प्राणप्रतिष्ठा गर्न सकियोस् ।
अनि
ग्रहण गर्न सक्नुपर्छ
षोडषोपचारले गरेको पूजा
मौन बनेर
आस्तिकको ईश्वरले झैँ
तथास्तुको आशीर्वाद दिएर
अन्तरध्यान हुन सक्नुपर्छ ।
किनकि
आस्था
जीवनको वरदान
अनि
मानवको नैसर्गिक अधिकार
सबैले चढ्न सक्नुपर्छ
आस्थाका पहाडहरु ।
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)