कथा : बाबा बन्दुस

~खिमु केसी~

‘बन्दुस, बन्दुस ल्याइदिनुस् न बाबा ।’

छोरोको अफर आजभोलि यही हुन्छ । बजार जान थाल्यो कि उसको अफर सुरु हुन्छ । खै बाजे जस्तै हुने पो हो कि ?

उसका बाजे मतलब मेरो बुबा रिटायर्ड प्रहरी । राती सुत्दा पनि बा जय नेपाल सर भनेर सुत्छ । बाजेलाई बा भन्छ ऊ ।

नातिले जय नेपाल भनेर सुनायो भने बा साह्रै खुशी । सायद बालाई पुराना दिनहरु फ्ल्यास ब्याक हुन्छ होला । सिपाहीहरु खुट्टा बजारेर जय नेपाल सर भनेको । तर बूढालाई अहिले जय नेपाल भन्ने त्यही नाति भा’को छ । त्यही भए पनि चित्त बुझाउने बाटो भा’छ ।

तीन वर्ष नपुगेको नातिको चाला देखेर बाले आमालाई आफ्ना अनुभव न्यारेट गर्छन् । कहिले डोल्पाको चिसो त कहिले नेपालगञ्जको गर्मीको अनुभव । कहिले परेड खेल्दाको त कहिले जंगल फायरिङ । बाले प्रायः साँझ मात्र एक प्याक भर्जिन खाने । बाले अहिलेसम्म घर बाहिर गएर दारु खाएको पनि देखेको छैन । दारु खायो । खाना खायो । आठ बजेको समाचार हे¥यो । सुत्यो । प्रायः बाको यो डेली सेड्यूल नै हो । नातीले बाको प्याकलाई गन्धा भनेर जिस्काउँछ । बाले पेट दुखेको दबाइ हो भनेर नातिलाई ढाँट्न खोजे भने होइन भनेर नातिले प्रतिवाद गर्छ ।

कहिलेकाहीं खाएको बेला बत्तिस वर्षे लामो कथा सुरु हुन्छ बाको । आमालाई झर्को लाग्छ । सायद यस्ता कथाहरु धेरै पटक दोहोरियो होला । के सुना’को हामीलाई यस्ता कथा । हामी पनि घर सम्हालेर बसेको हुनाले अहिले गृहस्थी भा’को छ । जागिर पो हामीले खान सकेनौं । गुरुङनी हल्दारनी जस्तै जहाँ–जहाँ पोइको सरुवा भयो त्यहीं गा’को भए यस्तै हुने थियो कि क्या हो । आमाले अलि चर्को तर हँस्यौली पाराले भनिन् । बा र नातिको खेल नै बन्द भयो । आमा, जय नेपाल सर । नातिले हजुरआमालाई स्यालुट ठोक्यो । नातिले हजुरआमालाई आमा भनेर बोलाउँछ । हुन त आजभोलि नेपाली बोलचाल धेरै सजिलो भा’को छ । छोराछोरीले बोलाउने नातिनातिनीहरुले बोलाउने शब्दहरु एउटै छन् । छोरी र बुहारीहरुले बोलाउने शब्दहरु एउटै छन् ।

दाइकी छोरी सानी छ । पाँच वर्षकी । मान्छेको साइज र हाइट भने नाति जत्रै । सानोमा धेरै बिरामी परी नानी । दिमाग त छुरा छ । कुरा भूँइमा खस्न दिन्ने । स्कूलमा कक्षा फष्ट हुन्छे । स्कूल फी तिर्नु पर्दैन रे । ह्वाट इज योर नेम । बाले सोध्न नपाउँदै माइ नेम दिक्षान्त । उसको लागि ग्रामर चाहिदैन । किनकि उ सानो छ । सक्दैन प्रोनाउन सेसन गर्न । दिक्षान्तको साथी नै त्यही नानी हो । राती सुत्दाबाहेक उनीहरु प्रायः सँगै हुन्छन् । न उनीहरु मिल्छन् न छुट्टिन्छन् । नाति माया गर्छ नानीको । खाने कुनै परिकार पायो भने नानीलाई हो भनेर राख्छ । लगाउने कुनै चिज पायो भने । नानीलाई पनि खै भन्छ ।

नानीको मम्मी काठमाडौं जानुभएको थियो आँखाको अप्रेसन गर्न । तिलगंगा आँखा अस्पतालको रुम नम्बर १२४ । आँखाको अप्रेसन समय बिहान साढे ८ बजे उठिएछ । ढिलो बिहान बिहानै लैनचौरबाट ट्याक्सी लगेर त्यो पनि २ सय ५० रुपैयाँ महंगो भाडा तिरेर गए । अघिल्लो दिन त रबिनसँग मोटरबाइकमा गा’को थिएँ । डक्टर आफूले दिएको समयभन्दा २ घण्टा ढिलो आए । धन्न आए । यही नै ठूलो कुरो थियो । धेरै पटक मैले भोगेको छु ।

नेपाल एयरलाइन्सको टुइनेटरजस्तै डक्टरले डेट क्यान्सल गर्छन् । नेपालगञ्जबाट हुम्लाको सिमकोटको लागि चौध दिन कुरेको याद यो मेमोरीमा सधैं अमर बनेर रहेको छ । बिहानै उठ्यो । ह्याण्ड ब्याग बोक्यो राँझा एयरपोर्ट । जहाज क्यान्सिल अनि फेरि त्यहि पुरानै होटेल । होटेलवाला साहुनी हाँस्दै भन्थिन्, आज पनि उडेन । ठिकै छ । भोलि भइहाल्छ । टेन्सन नलिनू । यस्तो पो लाग्थ्यो कि आफ्नी श्रीमतीले सम्झाउँदै छे । आफ्नो कथा के छ ? आफ्नो व्यथा के छ ? साहुनीलाई के था ? उनलाई त एक दिन नउडे एउटा हात्ती आइहाल्छ । टेन्सन उनले पो लिन नपर्ने । तर ब्ल्याकमेल गरेर टेन्सन मलाई नलिनुस् भन्थिन् । धन्न त्यस्तो भएन । दुइ घण्टासम्म डक्टर नआउँदा त यो मन नेपालगञ्ज पुगिसकेको थियो । एकपटक ‘थ्याङ्क गड’ त भनें मनमनै ।

‘भोलि एकपटक आउनुहोला’– डक्टरले भने ।

हाम्रो काम सकियो भोलिसम्मलाई । अस्पताल यस्तो ठाउँ रहेछ जहाँ नो बडी डेयर टू आस्क दि कोइसन । डक्टरको एक्लो निर्णय काफी ।

दुइ घण्टापछि हुने काम पनि भोलि पर्सी भनेर भन्न सक्ने राइट छ डक्टर साबसँग । हुन त डक्टर सा’ब भनेका । सेकेण्ड गड पनि भन्छन् । एकप्रकारले हो पनि । मान्छेलाई बचाउने र मार्ने साँचो उनीहरुसँग छ । कहिलेकाहीं चाइनिज ताला खोल्न इण्डियन साँचो हालेर अप्ठ्यारो परेजस्तै हुन्छ अस्पतालमा । डक्टर र एउटा राम्रो पेन्टर उस्तै–उस्तै हुन् मेरो नजरमा । एउटा राम्रो पेन्टरले सबै बस्तुहरुलाई जस्ताको तस्तै फोटोकपी जस्तै उतार्छ । पेन्टर कमसल प¥यो भने ओरिजिनलमा भएको कुनै पनि वस्तु डुप्लिकेटमा हेर्न खोज्यो भने ओरिजिनलकै खाँचो पर्छ ।

डक्टर आफ्नै क्षमता र दक्षताले पूर्ण छ भने उसको नाम र इज्जत दुबै बिक्छ । नाम नै एउटा ब्राण्ड बन्छ । अहिले बजारमा सामसुङको मोबाइलजस्तै । होइन भने मकैको फुला उठेझैं डक्टर पढ्ने कलेज र लगानीले गर्दा डक्टरहरुकै वजन घटाएको छ । ५० लाख तिरेर डक्टर पढेर के ग्योरन्टी छ राम्रो नै हुन्छ भनेर । ५० प्रतिशत आइएस्सीमा आयो भने डक्टरको लागि आवेदन दिनेहरुको घुँइचो मैले प्राइभेट मेडिकल कलेजहरुमा देखेको छु ।

मैले यो देखेको छैन कि ५० प्रतिशत ल्याउनेहरुले सरकारी तथा इण्डियन एम्बेसीमा अप्लाई गरेको । किनकि उनीहरुमा कन्फिडेन्स नै हुँदैन । जो सँग कन्फिडेन्स नै हुँदैन अनि उनीहरुले उपचार कसरी गर्लान् ? डक्टर पेशा अहिले फेसन र प्यासन बनाउनको कमी पनि देख्दिनँ म ।

मेरो छोरो त बासँग पुलिस बन्ने भन्छ । तीन वर्ष नपुगेको दिमागले सिंघम रिटर्नस र धूम मचाले घरमा बाआमासँग धूम मच्चाउँछ । था छैन त्यो फुच्चे भोलि के बन्छ ? यो बनाउँछु भनेर ग्यारेन्टी भनेर केही पनि छैन । म पनि प्रहरी अफिसरको छोरा । म पनि प्रहरी अफिसर नै बन्नुपर्ने बनिनँ । बा जे बने छोरा त्यही बन्नुपर्ने भन्ने कहीं छैन । आफ्नो–आफ्नो च्वाइस हो । जसलाई जे मा इन्ट्रेस्ट छ त्यही बन्ने हो । बनाएर बन्ने होइन । छोराछोरीको इच्छा एकातिर हुन्छ, बाआमाको अर्कोतिर । बाआमाले आफ्ना छोराछोरीलाई डक्टर पाइलट नै बनाउन चाहन्छन् । त्यसको लागि घरघडेरी बेचेर होस् वा बन्धकी राखेर । आफ्ना छोराछोरीको क्षमता र इन्ट्रेस्टलाई सोच्दैनौं । परिणाम सोचेजस्तो आउदैन ।

छोरी डान्समा इन्ट्रेस्ट राखेकी हुन्छे अभिभावक उसलाई स्टाफ नर्स बनाउनलाई परेशान भा’को हुन्छ । छोरो पेन्टिङ इन्ट्रेस्ट राख्छ अभिभावक उसलाई पाइलट बनाउन तम्सेको हुन्छ । उनीहरुलाई लगानीसँग मतलब छैन । उनीहरुलाई मतलब छ त गाउँमा यसो बसेको बेला मेरो छोरो डक्टर, मेरो छोरो पाइलट अनि मेरी छोरी नर्स भनेर गफ दिने । डक्टर, पाइलट र नर्स नबनेकाहरुका अभिभावकहरुलाई ड्यास दिने । बस् त्यो भन्दा ठूलो उपलब्धि केही हुँदैन ।

भाटभटेनी सपिङ कम्प्लेक्स बालाजुमा यसो साँझपख घुम्न गइयो । यसो मन परे ट्रयाक किन्ने । होइन भने फर्केर आउने प्लानमा थिएँ । रविनको परिवार सहित चार जना । लिफ्ट चढ्दै थियौं । ठेलमठेल टिनएजरहरुको । क्रिसमसको गिफ्ट किन्नको लागि । घण्टी बज्यो मोबाइलको । बुढीको मोबाइलबाट आएको रहेछ । हेलो.. हेलो.. बाबा । हजुर कहिले आइसिन्छ । फोनमा छोरो बोल्यो । म भोलि आउँछु बाबु । तिम्लाई सञ्चै छ । ठीक छ । बाबा मलाई बन्दुस ल्याइदिनु है । मैले अर्को प्रश्न सोध्नै पाएन ।

(स्रोत : नयाँ युगबोध दैनिक – सौगात)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.