~अनन्त निरौला~
तिमीलाई मन भरि राखेर
अस्ति नै मन शान्त भा’को बेला
शब्दहरु सुस्तरी केलाउँदै जोड्दै जाँदा
तिमी कविता भएर निस्केथ्यौ।
अनि फेरि एक दिन बेलुकी पख
निलो आकाशमुनि
पोखरीको डिलमा बसेर
बतास सित सुसेली मार्दा
तेस्को आवाजमा तिमी
गीत भएर निस्केथ्यौ।
मालती,
हिंजो त हो
घर पूर्वका डिलहरुमा
हामिले मिलेर लाएको
सयपत्री फुलेको देख्दा
तिम्रो सम्झनाले
मनै बटारियो।
उज्यालो दिन पनि
असामयिक रुपमा
कालो रात भयो
अनि ठिक त्यै बेला
तिमी आँखाभरी
टिलपिलाउँदै
तल गालामा टक्क अडिएर
मलाई हेरेथ्यौ।
ताराले भन्दै थि
तिमी भाइको बिहेमा
पर्सि गाउँ आउने रे
एक बर्ष भो नदेखेको तिमीलाई
ताराको यो समाचार पछि
म तिम्रो बारेमा
सोच्न मात्रै के थालेको थिएँ
तिमी त हर्षका रेखा भएर
ओंठ भरि सुटुक्क टुपुल्कियौ।
मालती,
जीउ पो तिम्रो म देखि टाढियो
तिमी त यतै म सितै छुट्यौ
तिमी त यतै म सितै रह्यौ।
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )