~जीवन दहाल~
“बाबु मलाइ पनि एकपट्क कुरा गराइदेउन तिम्रो फोनाँ”-पशुपति बृद्धाश्रमको प्राङ्गणमा मोबाइलमा कसैसँग कुरा गरिरहेका बेला एउटी बृद्धाले अनुरोध गरिन ।
बृद्धातिर फर्किएर हेरे,अनुरोध गर्ने बृद्धालाइ मैले कहिल्यै देखेभेटेजस्तो लागेन तर अपरिचित मान्छेको फोन मागेकामा र संन्सारैले माया मारेर त्यागेजस्ती यी बुढिआमै कसलाइ फोन गर्न चाँहदी हुन भनेर आश्चर्य नलाग्ने कुरै थिएन साथै मैला लुगा, जिङ्ग्रीङ्ग परेको कपाल ,बृद्धावस्थालाले लग्लग् कामेर थिग्र्याउँन मुस्किल परिरहेको शरीर र कारुणिक स्वरले भनें मलाइ द्रबिभुत गरि छोड्यो । अनि मैले सकेसम्म नरम स्वर बनाएर उनले फोन गर्न चाहेको मानिसको जानकारी लिने उद्देश्यले सोधे-“कसलाइ फोन गर्न खोज्नु भएको र ! आमा ?”
“मेरो छोरो दयानिधि शर्मालाइ”उनले खोजेको मानिसको नाम बताइन ।
“तपाईंसँग फोननम्बर छ त आमा ?”-मलाइ उनीसँग फोननम्बर भएकामा शंका लाग्यो ।
“लम्बर-सम्बर त छैन बा मसँग,अमेरीका गएदेखी नभेटेकै सातबर्ष भै सक्यो काँ’बाट दिनु लम्बर ?”- बुढीआमैले बाध्यता ओकलीन उसै गरेर कामीरहेको स्वरमा मेरो शंका निवारण गरिदिदै ।
“अनि फोननम्बर नै नभै त कहाँ फोन गर्नु र आमा ?”-मैले पनि आफ्नो बाध्यता बताएँ ।
“दयानिधी शर्मा भनेर फोनमा भन्दा हुँदैन र ! लम्बरै चाहियो बाबु ?”-बुड्यामैले अझै आशा छोडिनन् ।
“हुन्न आमा हुन्न”-मैले यथार्थ बताइ दिएँ ।साथै बृद्धाश्रममा आफूलाई फ्याँकेर हिँड्ने छोरालाइ किन फोन गर्न मन लागेको होला भन्ने उत्सुकता पनि मनमा रहिरहेकाले उत्सुकता मेटाउँने धेयले प्रश्न पनि थपें-“फोन चैं किन गर्न खोज्नु भएको र ! आमा ?”
“आज आमाको मुख हेर्ने दिनभएर नि बाबु, आमाको मुख हेर्न नपाएनि बोलीसम्म सुन्नपाए त कस्तो हुन्थ्यो भन्ने भै’रा होला बिचारालाई”-बुढीआमैको कथन् थियो ।
जीवन दहाल
गौरादह-१२,झापा
(स्रोत : Writingnepal.com)