कविता : किन ???

~प्रल्हाद पोखरेल~

तन्नेरीजनहीन गाउँघर छन् रित्ता भकारी किन ?
पैराले पुरिएछ खेत गतिलो बाँझै छ बारी किन ?
निर्धो रुन्छ अरण्यरोदन कठै ! सुन्दैन कोही किन ?
रोएझैँ किन देखिँदैछ पछुतो मानेर गोही किन ?

चारैतर्फ कुनीतिको दबदबा फैलेर आयो किन ?
निर्धो भै असहाय नीति बिचरो चौपट्ट रोयो किन ?
साँचो नैतिकता निरीह बबुरो झोक्री बसेको किन ?
बाङ्गाकै बलियो छ शासन सधैँ सोझो फसेको किन ?

पैसा बग्दछ दक्षिणैतिर सधैँ पानी बगेझैँ किन ?
उद्योगीजन तर्सिएसरि भए सातो लगेझैँ किन ?
भाग्यो उद्यमशीलता कुशलता पारी सिनित्तै किन ?
जो छन् दक्ष विदेश लक्ष्य उनको यो देश रित्तै किन ?

जो होचो उसकै सदैव मुखमा घोचो परेको किन ?
जो टोक्दैन उही सधैँ अघि सरी भुक्ने गरेको किन ?
मिथ्या मात्र जताततै मनपरी कुर्ली हिँडेको किन ?
सङ्लो शान्त नदी सुकेर खहरे उर्ली हिँडेको किन ?

झिल््मिल् झिल््मिल् तारा बीच जून बसेको किन ?
भर्खर थियो हरियो त्यो पात फेरि खसेको किन ?
बसन्तको चंचल पवन, सिरेटो पसेको किन ?
प्रश्न मात्र आउँछन् मनमा जवाफ धसेको किन ?

नौटङ्की जहिले पनि व्यथित भै हेर्नै परेको किन ?
सत्तास्वाद मिल्यो कि साधुतकले गिर्नै परेको किन ?
चौका हान्दछ चोरले तर सुधो मर्नै परेको किन ?
बाटो बन्द उँभो निरन्तर उँधो झर्नै परेको किन ?

देखेको सपना विखण्डित भई मान्छे डरायो किन ?
भोगेको बिपनासँगै रुमलिई मान्छे हरायो किन ?
भाग्यो मानवता र दानवपना हुर्केर आयो किन ?
आस्थाको घर भत्किई प्रगतिको बाटो हरायो किन ?

आगो भैकन दन्कनै छ झरिलो ज्वाला निभेको किन ?
क्रान्ति व्याप्त बनाउनै छ युगको झण्डा झुकेको किन ?
गर्नै पर्दछ सिंह(गर्जन युवा(वाणी सुकेको किन ?
आभापूर्ण प्रशंसनीय प्रतिभा भित्रै लुकेको किन ?

बेहोसीपन बल्झिई स्मरणमा जालो बुनेको किन ?
उत्साही अभियानको तरलता भित्रै थुनेको किन ?
सोचेझैँ सपना हुँदैन बिपना व्यर्थै गुनेको किन ?
बेहोरी हमला, छिनेपछि गला, माला उनेको किन ?

हावा बेलुनमा घुसेसरि यसै मान्छे फुलेको किन ?
टेकेको सजिलो धरातल भुली अन्तै डुलेको किन ?
रोई काल गुजार्नु पर्दछ सधैँ राम्रो कलाले किन ?
राम्रो गीत सुनाउँदैन कहिल्यै हाम्रो गलाले किन ?

मान्छेका मनमा भयङ्कर कडा आँधी चलेको किन ?
मैलो भेल जताततै मगजमा बाढी चलेको किन ?
ईर्ष्याको रिसको जघन्य विषको बाली फलेको किन ?
धर्ती ध्वस्त बनाउँदै हृदयको पैरो चलेको किन ?

रोपेको बिरुवा कदापि नबढी झन् टाक्सिएको किन ?
गाडी नै गतिशील बन्न नसकी झन् भासिएको किन ?
कालो दाग निधारमा अगतिलो झन् टाँसिएको किन ?
भ्रष्टाचार महाकलङ्क ननिको झन् गाँसिएको किन ?

मान्छे घातक राक्षसी गतिविधि ज्यादै बढेको किन ?
संज्ञाहीन भई क्षमा र करुणा मान्छे सडेको किन ?
हाम्रो संस्कृतिको धनी धरहरा ड्याम्मै ढलेको किन ?
भस्मैभस्मसिवाय के छ र अरू जम्मै जलेको किन ?

पीडा दुस्ख र यातनामय कडा सास्ती खपेको किन ?
आलो घाउ छ नूनसाथ अमिलो ज्यास्ती थपेको किन ?
देखिन्छन् रनभुल्ल देशभरका संयन्त्र सारा किन ?
देखिन्नन् असहाय दीन जनका कोही सहारा किन ?

आँखामा झरना निरन्तर लिई आमा रुझेकी किन ?
भक्कानो मनभित्र थाम्न नसकी पत्नी भिजेकी किन ?
बाबा चिन्तनशील भै शिथिलता बोकी डराए किन ?
डुङ्गा ढल्पलिँदैछ मूल घरको माझी हराए किन ?

हाम्रै आदरणीयबाट अहिले आस्था हरायो किन ?
चर्को भो असहिष्णुता र सहसा विद्वेष आयो किन ?
हाम्रै सुन्दर देशबाट दिउँसै माटो हरायो किन ?
किंकर्तव्यविमूढ आज जनता कल्ले गरायो किन ?

काठमाडौं

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.