कविता : रक्सी र म

~सुरेस खनाल~

हरेक साँझ, मनभरि भएका
गुनासोहरु केलाउँछु
र म पाउँछु आफूलाई;
कहिले परिचितहरुका जालहरुमा जेलिएको,
कहिले जीवनका सवालहरुले घेरिएको,
कहिले एक्लोपनाका हालहरुमा हराइरहेको,
र कहिले,
जवानीका जंजालहरुले बिथोलीरहेको!

त्यो सबैलाई एक एक गर्दै,
झिक्दै, थुत्दै, तान्दै निकाल्छु
र एउटा बलियो पोको बनाएर,
म त्यसलाई रक्सी संगै
गिलाँसमा झोस्छु,
अनि एक सासमा गिलाँस रित्त्याउँछु,
मानौँ म अमृत पिउँदैछु!

त्यसपछि, कहिले वास्तबिकता बिर्सेर
अट्टाहास लगाउँछु
र दंग पर्छु म गुनासो सकिएकोमा।
कहिले सबै गुनासो सम्झेर
फेरि धुरुधुरु रुन्छु।
अनि क्यासेटमा बज्दै गरेको
गजल संगै एकछिन गाउँछु
र बेहोश हुन्छु!

बिहान अचानक थाहा पाउँछु;
हिजोको गुनासोमा,
अर्को एउटा गुनासो पनि थपेछु
आफैँले रक्सी छाड्न नसकेको!!
यसरि सधैँ गुनासो थपिँदै छ
मेरो जिन्दगीमा दिन दिन,
र मेरो दिनमा छिन छिन
एउटा दीर्घरोग जस्तै!
मलाइ थाहा छ,
यो झिनो सासको यात्रामा,
यसले मलाई क्षण क्षण मार्दै छ।
तर पनि हरेक साँझ म ब्यूँतन्छु
र फेरि भोलि मर्ने जोहो गर्छु!!!

-यु एस् ए
October 25, 2006

(स्रोत : साझा डट कम)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.