कविता : फेरी एक पटक खुलेको छ सपनाको बजार

~स्नेह सायमि~

फेरी एक पटक खुलेको छ सपनाको बजार
आउनुस देख्नुस राम्रो सपना
र लेखिदिनुस उसको नाउमा
तपाइको कमसेकम  अर्को पाँच बर्षको जिन्दगी
०००००००००००००००००००
तपाई चामल जस्तो केलाएर हेर्न सक्नु हुन्न
लुगा जस्तो छामेर अनुभब गर्न सक्नु हुन्न
उसले भन्दै जान्छ , तपाईले सुन्दै जाने हो
आँखा चिम्लिने हो, सपना देख्ने हो
उसका सबै भनाइ विश्वास गर्ने हो
फेरी एक पटक खुलेको छ सपनाको बजार
०००००००००००००००००००
आउनुस तपाईलाई कुन सपना मन पर्छ
दिउँसै देख्नुस एक सपना
र पाल्नुस एक पल्टन शासक हरु
सभा भाँड्ने सभासदहरु
०००००००००००००००००००
संबिधान सभा बनाइदिनुस र
दिनुस संबिधान नबनाउने  अनुमति
सरकार बनाउन सहयोग गर्नुस र
गर्नुस सरकार नभएको अनुभूति

तपाइको छाप्रो उधारेर
गर्नुस मद्दत
बनाउन लथालिंग मुलुकका पार्टीका घरहरु
०००००००००००००००००००
तपाइको छाक काटेर गर्नुस सहयोग
निर्माण गर्न
गरिब कार्यकर्ताका धनी नेताहरु
लेखिदिनुस उसका नाउमा तपाईमा उर्बर जवानीका पांच बर्ष
फेरी एक पटक खुलेकोछ सपनाको बजार
०००००००००००००००००००
तपाइँ रिक्सा चलाउनु हुन्छ त के भो र
किन्दै नकिनी निजि गाडीमा शयर गरेको सपना देख्नुस
तपाई निजि गाडीमा हिड्नु हुन्छ भने हवाई जहाज किनेको सपना देख्नुस
छन उसंग थरिथरिका सपना
छन उ संग प्रत्येक बर्गका सपना
अँध्यारो गाउँमा अर्को महिना देखि
बिजुली बत्ती बाल्न पाइने सपना
सुक्खा जमीनहरूमा पानीले भिजाउने सपना ?? !!
सपनाको बजारमा यो पनि केहि सपना हो र ?
देख्नुस तपाइँ २०० तल्ला  माथिको गगनचुम्बी घरमा रहेको सपना
देख्नुस तपाइँ इन्द्रेणीको धागोबाट संसार भ्रमण गरेको सपना
०००००००००००००००००००
उ सपनाको कारखाना नै हो ,
अहिल्यै निकालेर दिन्छ भिन्न मोडेल र ब्रान्डका सपना तपाईलाई
मात्र लेखिदिनुस तपाईका अमुल्य जीवनका अर्को पांच बर्ष
फेरी एक पटक खुलेको छ सपनाको बजार
०००००००००००००००००००
जमिन्दारलाइ जमीन थपिदिने मौका
पुँजीपति लाइ अझै कमाउने  अवसर
कालोबजारीलाइ अझै भाउ बढाउने अवसर
०००००००००००००००००००
संगै
समानता र साम्यबादको पनि सपना
संघियता र समाजबादको सपना
परिबर्तन र क्रान्तिका सपना
सबै एकै मनचिन्ते झोलामा राखेर
बाँडी रहेको छ सपना
मात्र छाप लगाई दिनुस उसको नाममा
तपाइको उर्बर जीवनको अर्को पांच बर्ष
०००००००००००००००००००
घरको सपना देख्दा देख्दै   बेघर भएका
शहर पानीले पखालिने सपना किनेर काकाकुल भएका
नया राज्य को सपना किनेर आफै बेचिएका
धेरै ठगिएका , झुक्किएका छन् मानिसहरु
फेरी पनि सपनाको बजारमा  सपना किन्ने हरु छन्
झुक्किएका दशकहरु बिर्सेर नया सपनामा आश गर्नेहरु छन्
किन्नुस तपाई पनि एक थान वा अनगिन्ति सपनाहरु
फेरी एक पटक खुलेको छ सपनाको बजार

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.