~आर.एम्. डंगोल~
ढोकैमा थियो
इच्छाको बीभत्स लास
हत्यास्थलमा
हुलिया नरोकिकन बहिरहेको
बासी हावा पनि थियो
घरको भित्तामा थियो
समयसंग गरिएको इच्छाको हस्ताक्षर
कसरी मारियो
एउटा जिउँदो इच्छा दिनदहाडै
सिङ्गो दिन
साक्षी भएर उभिँदाउभिँदै पनि कसले रोक्यो
घृणाको आवाज, क्रोधको आवेग
दमनको प्रतिक्रिया
संविधान किन बोल्दैन अहिलेसम्म ?
समयसंग यसरी भ्रमित छन् मानिसहरू
सत्ताका मतियारहरू
जो ओहोर-दोहोर गर्दैछन्
शून्य सडकपेटीमा
पाप पखाल्न
मन्दिर परिक्रमाको परम्परा छ यथावत्
यथावत् छ
भजनकीर्तनको आलाप राग
जयगानको दुन्दुभि क्रीडा छ निरन्तर
मानिसहरू
हेरिरहेछन्- समयको भित्तामा यो सिनेमा दृश्य ।
अँध्यारो कोठामा बसेर
ज-जसले सत्ताको सिनेमा हेरे
उनीहरूले हर्ेर्नुछ- अझै अँध्यारिँदै गएका
आफ्नै भग्न सपनाहरू
छेउमै उभिएका
लुइ चौधौं
र अट्टहास हाँसो हाँसिरहेका
सत्ताका मतियारहरू ।
यतिबेलासम्म
समयले लेखेको
जुन इच्छा
जीवित छ
उसले शासन गर्नु छ अब
सिनेमाहल बाहिर ।