~पदम गौतम~
पर्खाल नाघ्नलाई भागेर हुन्न साथी
खोस्ने कुरा त खोसौं मागेर हुन्न साथी
फ्याँक्नै छ आज कालो, माटो रुँदै छ हेर
मान्छे सुतेर माटो जागेर हुन्न साथी
ताक्नै पर्यो निसानी हान्दा विचार गर्छौं
हो, फूलमाथि भाला दागेर हुन्न साथी
टल्केर जूनकीरी टाढा पुगेर हेर्दा
हो, जूनझैं सुनौलो लागेर हुन्न साथी
लामो छ जिन्दगानी टाढा छ लक्ष्य तिम्रो
खुट्टा उठाउँदैमा थाकेर हुन्न साथी
(स्रोत : “घाम झुल्कनुअघि”-२०६४ गजलसङ्ग्रह बाट )