~दिलिप योन्जन~
दिनभरिको पसिनाले साटेको पिठो
तातो गाँससंगै झपक्क निदाउने कल्पना
साँझ नपर्दै हावा र पानीले छोप्ला भन्ने के थाहा?
स्याउला र चित्राले बनेको महललाई
डोब र किल्ला मात्र छोडेर उड्ला भन्ने के थाहा?
ताजमहलको कल्पना गर्ने दुखियालाई
बाच्ने आशामा रुने अबोध बालकको, के दोष?
दाउरा र पिठो नै भलले बगाए पछि
के थाहा अबोध बालकलाई?
हाड छाला टासिएकी आमाले लाम्टा छुसाउछिन भन्ने
झन जोडले कराउदै रुन्छ
के थाहा अबोध बालकलाई
दुध नआउने लाम्टा चुस्नुपर्छ भनेर
हावा, हुरी र पानीमा छटपटिनुपर्छ भनेर
जाडो र गर्मी भन्न पाइन्दैन भनेर
भोक-भोकै रुदै कराउदै बाँच्नुपर्छ भनेर
बोगोता कोलोम्बिया
August 21, 2007
(स्रोत : कविता कुसुम)