~घिमिरे युवराज ‘कर्जुना’~
मेरो बुद्धले उघारेको आँखा
त्यो होइन जहाँबाट देखिरहेका छौ तिमी
मेरो महाकविले देखेको चन्द्रमा
त्यो होइन जहाँ टेकिरहेका छौ तिमी
मेरी आमाले ‘देउतीमाता’ सिकाएको
लक्ष्यको शितल चन्द्रमा
के तिमी शौचालय सोचिरहेछौ ?
मेरा बाबाले उपदेश पढाएको बोधी वृक्ष
के तिमी बन्दुकका ‘कुन्दा’ खापिरहेछौ ?
के तिमी अझै देखिरहेका छैनौ विनास
पिरा आँखाहरूले
चर्का कानहरूले
अमिला मनहरूले
आफ्नै मुटुहरूको ! सम्बन्धहरूको ! !
मानव मन र पाखुराहरूको…
प्रियतम र प्रियतमाहरूको…
निमोठेरै सौन्दर्य मुद्राहरू, जीवनहरू
नतड्पाउ धर्ती
फेरि अर्को बुद्ध जन्मन सक्छ,
हतियार बोकेर… ! ! !
आस्थालाई विज्ञानले हडप्नुहुँदैन
विचारलाई बन्दुकले डस्नुहुँदैन
नत्र विकिरणहरू छिर्ने छन्
मर्ने छन्, ईश्वरहरू मान्छेभित्र
त्यसैले खोजीमा म समन्वयको, बारुदसँग
हिटलरसँग सम्झैता सुगौलीको
कृपया तिमी परेवा नउढाउ,
नउढाउ शान्तिको उपहास
आमाहरू भ्रममा पर्ने छन् र गर्ने छन्, विश्वास गर्भको
फेरि मान्छे, मान्छे हुँदैन भु्रणहरूमा कि
आफ्नै गर्भको भ्रुण मान्छेको होइन ।
विक्षिप्त तिमी, म
निर्विकल्प लक्ष्य, आस्था र ती सबै ज्ञानहरू ।
(स्रोत : हिमाल खबर)