~प्रकाश आचार्य~
मुटु नै सिरिङ्ग हुने गरि
चिसो सिरेटोका साथमा
धूमिल-धूमिल साँझमा
कठयांगरिदै बस्न पर्ने गरि
बिन्ती छ;
बेग्र गतिमा नझरीदेऊ न यसरी
ए झरी ।।
आकाशको गर्जनले कान फुटाउलाझैं गरी
मानौं कि आजको साँझ
साह्रै नै दरिएकी छ्यौ तिमी,
विश्राम लिन्छ्यौ कि भन्दै
घडी हेर्दै घण्टाहरु गनिरहंदा
आँखालाई नै थकाउने गरी;
बिन्ती छ;
निरन्तर निरन्तर नझरीदेऊ न यसरी
ए झरी ।।
हामी हिंड्ने सडक धुलाम्य नै थियो,
तिम्रो आगमनसंगै
यसले आफ्नो स्वरुप परिवर्तन गरी
हिलाम्यमा रुपान्तरण भइदिएको छ,
आखिर पैदल हिंड्न हामीलाई साह्रै
कष्टकर बनाउन अग्रसरता देखाउंदै
हामीलाई कष्ट हुन्छ भन्ने बुझ्दा बुझ्दै
नबुझेझैं गरी,
बिन्ती छ;
परिवर्तित शैलीमा नझरीदेऊ न यसरी
ए झरी ।।
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )