~डा. दीनबन्धु शर्मा~
अहङ्कार-दरबारहरू
लोभ पापका भारहरू
बढारिँदै छन् बाढीसँगै
उर्लिई युगका ज्वारहरू
भत्किँदै किल्लाहरू—-
शाश्वत भन्नु त केही छैन
मिथ्या हुन् सब सारहरू
नाटकलीला झिल्के नाच्यो
भाँचिन्छन् अब बारहरू
भत्किँदै किल्लाहरू—-
शताब्दियौँका आस्था ढल्छन्
परम्पराका स्तम्भहरू
आफैँलाई ईश्वर ठान्ने
ढल्दैछन् सब दम्भहरू
भत्किँदै किल्लाहरू—-
नायक बिचरो ढल्यो बुख्याँचो
फाटे त्यसका बुटहरू
तासमहल भई फुरुरु उडेका
सत्य भनेका झुटहरू
भत्किँदै किल्लाहरू—-
प्रगति पड्कियो हिरोसिमामा
व्यर्थ वीर बिल्लाहरू
नवयुग आउँछ खोस्छ पुराना
जमिन्दार जिल्लाहरू
भत्किँदै किल्लाहरू—-
(“भत्किँदै किल्लाहरू” कथा सङ्ग्रहको मूल भावसँग सम्बन्धित)