~अरुणबहादुर खत्री “नदी”~
नेपाली साहित्यका विभिन्न विधाहरूमा कलम चलाउँदै आएकी नारी साहित्यकार सुबिसुधा आचार्यको पछिल्लो कृतिको रुपमा फ्रन्टपेज नामक कथा सङ्ग्रह हालै प्रकाशित भएको छ । कथाकार सुविसुधाको अग्नियुद्ध र रहस्यमय भोगाइ नाम दुईवटा कथासङ्ग्रह यसअघि नै निस्केको थियो । नेपाली साहित्यमा सबैभन्दा बढी पढिने विधाका रुपमा आख्यान त्यसमा पनि कथालाई लिइन्छ । नेपाली समाजमा भेटिने विभिन्न प्रवृत्ति र चरित्रहरूलाई चित्रण गर्दै सुबिसुधाले कथाहरू बुनेकी छिन् ।
सामाजिक जीवनमा देखे भोगेको कलात्मक एवं सिलसिलेवार प्रस्तुति नै कथा हो । नेपाली साहित्यका उर्भरभूमि धादिङको केवलपुरमा जन्मिएर पाल्पालीसँग जीवनको साइनो गाँसेकी उनको यो कृतिभित्र सानीआमा, फ्रन्टपेज, पीडा आफैंभित्र, आरनका गोलहरू, रित्तो जिन्दगी लगायत विभिन्न शीर्षकका बाह्रवटा कथाहरू राखिएका छन् । उनका कथाले विविध पक्ष र विषयहरूको उठान मात्रै नगरेर तार्किक निष्कर्ष पनि निकाल्न सक्षम भएको छ । नारी स्वर, नारी चेतना, नारी स्वायत्तता र स्वाबलम्बनका अवधारणा उनका कथाभित्र समेटेको देखिन्छ । उनले लेखेका कथाहरूमा नारीप्रति विशेष चासो राखिएका छन् । “सानीआमा” कथाभित्र आमाको मृत्युले चिरा परेको छातीमा पाप्रा बस्न नपाउँदै बुबाले सानीआमा भित्र्याएर सधैंलाई बनाइदिनु भयो घाइते । आमाको कपडा, गहना लगाएर सबै आमाको स्वामित्वमाथि आधिपत्य जमाएको देख्ता कटक्क खान्थ्यो चित्त यस कथामा भनिएको छ । एउटा अपाङ्गको अवस्थाप्रति अत्यन्तै गहिरो संवेदनायुक्त चिन्तन भएको कथा सानीआमा हो । “फ्रन्टपेज” कथाभित्र अन्तक्रियामा बिचार ओकल्दै थिए आफ्ना गर्बिला धारा–प्रवाध प्रवचन गन्यमान्य व्यक्तिहरू । दुबै हातमा खाजाका प्लेटहरू बोक्दै श्रीमती पसिन् कोठामा । उनको नजर लम्पसार ओछ्यानमा पल्टेकी आइमाईलाई ठक्कर लाग्न गयौ भनिएको छ । “पीडा आफैंभित्र” कथामा आमा हो अरुको भन्दा चित्त चाँडो पलाउनु, मन पग्लनु स्वाभाविकै हो । त्यसैले सबैलाई चुप लागेर आ–आफ्नै काममा जान भन्नुहुन्छ । कथाको पात्र शकुन्तलालाई नरुन सम्झाउँदै थुम्थम्याउनुहुन्छ भनिएको छ । यस कथाभित्र शकुन्तलाले धेरै छोरीहरूको प्रतिनिधित्व गरेको छ । कथाको अन्त्यमा शकुन्तलाले म माइत जानु हुँदैन घरमा त फर्कने सवालै आउन्न । अब यस्तो अन्जान ठाउँमा जान्छु जहाँ कसैले मलाई चिन्दैन । त्यही जन्माउँछु म यो बच्चा, यो मेरो मुटुको टुक्रालाई । यौ सन्तान मात्र मेरो हो, भन्दै सोचीन् भनिएको छ । सुविधुधाका कथाहरूले सामाजिक विकृति, विसङ्गति दुःख बेदना र पीडाका पाटाहरूलाई औल्याउदै समाजमा चेतना फैलाएको देखिन्छ । पुरुष सत्ताले जरो गाडेको वर्तमान सामाजिम संरचनामा नारी लेखिकाहरूको उदय हुनु आफैंमा उत्साह योग्य कुरा हो । पिछडिएको र दबिएको नारी समाजमा थिचिएका, पिसिएका वर्गका अन्तर पीडाहरू व्यक्त गर्न सकिएमा त्यो बढी प्रभावकारी हुन्छ । एक विवाहित नारी भएपछि घरायसी कामकाजमा समय नदिऊँ भन्दा पनि सुख पाईदैन । फेरि उसमाथि विभिन्न साहित्यिक संघसंस्थाहरूमा संलग्न हुँदै, तीन, चारवटा पत्रपत्रिकामा स्तम्भ लेख्दै बचेको समयलाई सिर्जनातिर अनुवाद गर्न सक्नु उनको विशेषता हो । यस्ता प्रतिभावान स्रष्टालाई राष्ट्रले यथोचित सम्मान गर्नुपर्छ भन्ने मेरो धारणा छ । तर चोरलाई चौतारो साधुलाई सूली भनेझैं हाम्रो देशमा प्रायः सक्कली प्रतिभाहरूभन्दा नक्कली प्रतिभाहरूले समाजमा इज्जत कमाएको देखिन्छ । बोल्न सक्नेको पीठो बिक्ने, बोल्न नसक्नेको चामल पनि नबिक्ने हाम्रो आजको परिवेशमा सुबिजस्ता स्रष्टाहरू अझैं ओझेलमा परिरहेका मलाई अनुभूति हुन्छ । आरनका गोलहरू कथाभित्र “सङ्घर्ष जीवनको अभिन्न पाटो हो, सङ्घर्षका तीखा काँडाहरूमा भविष्यको गुलाब फक्रन्छ रे, मेहनतको हिलोमा आत्मा सुखानुभूतिको कमल फुल्छ रे १ ” भन्नेहरू यसै भन्छन् भनिएको छ । नेपाली साहित्यमा कथाको इतिहास भने त्यति लामो छैन, करीब डेढसय वर्ष अघिको । त्यसभन्दा अघिका कथा र आजका कथाहरूको स्वरुप, लेखनशैली र वाचनप्रक्रिया नितान्त फरक छ । एकादेशको कथाबाट थालनी भएको कथायुगले आजसम्म आउँदा लामो फड्को मारिसकेको छ । विशेषत समकालिन राजनीतिक परिदृष्यलाई झल्काउने कथाहरूको बलियो उपस्थिति रहेपनि प्रेमप्रसङ्ग, सामाजिक विभेद, शहरीया प्रवृत्तिहरू जस्ता पक्षहरूका बारेमा समग्रमा सुविसुधाको यस कृति बलियो छ ।
आरनका गोलहरूको बिर्खे र उसको परिवार अनि बन्दको त्यो दिनको बिजुको बाउको भोगाइ नेपाली जनजीवनको बहुसङ्ख्यक पक्ष हो । अत्यन्तै मार्मिक चित्रण छ यी दुबै कथाभित्र । पाठकका मनमा सुविसुधाका कथा पढेपछि बिजुली चम्किन सक्छ । “प्यासको उल्झन” कथामा कथाको पात्र आरतीले अनुभव गरेकी छ जीवनको उच्चारणले मात्र पनि पानी पानी बन्ने अवस्था सिर्जना भएको छ आज । मनलाई सम्हालेर ध्यान अन्यत्र लैजाने कोसिस गर्छे भान्छाका सबै सामानमा दिमाग दौडाएर उल्लेख गरिएको छ । अँध्यारा बिम्बलाई पराजित गर्न जोडतोडले खम्बाका बत्तीहरूले प्रकाश धर्तीमा फ्याकिसकेको समयमा असाध्यै हतार हतार कोठामा आरती भित्रिन्छे स्याँ…..स्याँ….. गर्दै भनिएको छ यस प्यासको उल्झन शीर्षकको यौनकथामा । “दुर्घटना” कथामा बैचारिक लडाइँ मात्र हैन व्यवहारिक लडाइँ पनि जितेको महसुस गर्दै मुसुक्क मुस्कान पस्केर माला हातमा थमाइदिदै कुमले बुनुले आफ्नो प्रेमीलाई हिर्काइन् भनिएको छ । “बदलिँदो बादल र स्वास्नीमान्छे” कथामा ओहो दादा कस्तो पशुको बथानमा नाता गाँस्न पुग्नु भएछ तपाई अरु त अरु त्यो आइमाईलै त तपाईलाई बुझ्नुपर्ने हौ नि त्यति छिटै बाटो मोड्न सक्ने सोच थियो त अरुको जीवनमा किन आएकी कुलङ्गारनी” भनिएको छ । यो कृतिले नेपाली कथाको फाँटमा आफ्नै तरिकाले सुवास छरिरहनेछ भन्दा कसैको दुई मत नहोला । यसर्थ मलाई लाग्छ यस्ता सुन्दर कथाहरू सिर्जना गर्न सक्नु सुबिसुधाको खुबी हो ।
सुविसुधा आख्यानमा नयाँ शैली लिएर देखा परेकी नारी कथाकार हुन । यिनमा घटना टिपेर अनुकूल परिवेशले सिगार्ने खुबी छ । त्यही प्रवृत्तिले गर्दा सुबिसुधा नेपाली साहित्यमा कथाकारमा रुपमा चर्चामा आएकी छन् । यिनको कलम तिखो छ र समाजका विकृति विसङ्गति प्रति प्रहार गर्न सक्षम पनि छ । उनका अधिकांश कथाहरूमा चरित्र चित्रणलाई विशेष जोड दिइएको छ । उनको कथा लेख्ने शैली सरल र बोधगम्य छ । उनले कथामा कौतुहलताको प्रयोग निकै सचेततापूर्वक गरेकी छन् । समाजका विभिन्न वर्ग, क्षेत्र, घटना, चरित्र आदिलाई पात्रहरूको उपयुक्त संयोजनबाट राम्रा कथाहरू सिर्जना गर्न उनी सफल छन् । पत्रात्मक शैलीमा कथा भन्ने उनको प्रयासमा अझैं सुधारको आवश्यकता अपेक्षित देखिन्छ । कथाकार सुविसुधाको कथालेखन अगाडि बढ्दै जाओस् । आउँदा दिनमा अरु कथासङ्ग्रह जन्मन सकोस् भन्न चाहन्छु ।
कृतिः फ्रन्टपेज
प्रकाशनः काब्यसुधा डट कम
सामाखुसी मार्ग, काठमाडौं
मूल्यः रु. १००।–
मोबाइल ९८४१७९७६६४
पहिलो संस्करणः २०६७, मङ्सिर
पृष्ठः ११६