~निर्मोही व्यास~
१
“पुजिन्छन् जहाँ धूर्त, लुच्चा, अयोग्य
र हुन्छन् जहाँ दण्ड-भागी सुयोग्य
जहाँ ‘चाकरी’ योग्यताको कसी छ
जहाँ चेतना-सिर्जना अप्जसी छ
२
जहाँ राज गर्छन् छुचा केतु-राहु
जहाँ छन् कुँजा न्यायका हात-पाउ
जहाँ सत्यलाई कतै छैन ठाउँ
त्यही देशको नै त ‘नेपाल’ नाउँ”
३
चिनारी यही नै भएको छ आज
परेवा छ बन्दी र उन्मुक्त बाज
सधैँ शान्ति-वार्ता, सँगै क्रूर हत्या
हरे ! जो छ द्यौता, उही घोर दैत्य
४
सबैको सँगै बास, यौटै छ छानो
छ उस्तै उही गाँस, यौटै छ मानो
कठै ! किन्तु सम्बन्ध कस्तो बिरानो !
खुँडा धारिलो एक, अर्को अचानो
५
कसैसङ्ग कोही कतै खुल्न गाह्रो
अविश्वासको तेर्सिएकोे तगारोे
जतातर्फ हेरूँ अँध्यारैअँध्यारो
परेको छ आशाहरूमा तुसारो
६
छ सन्त्रासले ग्रस्त सिङ्गो समाज,
कहाँ टिक्छ यो किन्तु अन्याय–राज ?
मिली काट्न सन्त्रासदीको उकालो !
म सद्भावको बालिराखूँ दियालो
000
(रचनाकाल : २८ कार्तिक २०७२)
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)