~जीवन क्षेत्री~
दिल सल्काएर आगो तापिरहेछन्
एक हुल अभागी प्रेमीहरू
कल्पनाको आतङ्कमा डुबेर
सो कथित प्रेमको अमूर्त सागरमा
झिनो आशाको डुङ्गा खियाइरहेछन्
एक हुल अभागी प्रेमीहरू ।
संसार बिर्सने व्यर्थ कोशिस गर्दागर्दै
यथार्थको पर्खालमा पलपल ठोकिएर
जीवनको तलाउमा झरिरहेछन्
अनि ढिलो गरी बुझिरहेछन् संसार
जीवनको नयाँ परिभाषा दिइरहेछन्
एक हुल विचरा प्रेमीहरू ।
सयौँ पानाहरू भरिरहेछन्
मसी धेरै खर्चिरहेछन्
कहिले प्रेमको सुरुमा त कहिले अन्तमा
कहिले अति हर्षमा त कहिले विस्मात्मा
कहिले आत्मा रेटिरहेछन्
कहिले स्वप्न भेटिरहेछन्
तर पलपल झस्किरहेछन्
के प्रेमको साम्राज्य मौलाउला ?
अझै सशङ्कित छन्
एक हुल जिज्ञासु प्रेमीहरू ।
भोक, तिर्खा बिर्सिरहेछन्
नाता कुटुम्ब भुलिरहेछन्
साथीहरूलाई पन्छाइरहेछन्
पलाइरहेको प्रेमको मुना वैलाउला है ।
सचेत छन् एक हुल प्रेमीहरू
आजीवन भोग्नुपर्ने संसारलाई
बेवास्ता गरिरहेछन् मुस्किलले
उल्टै सरापिरहेछन् समाजलाई
नाम काढी काढी निन्दा गरिरहेछन्
प्रेमका शत्रुहरूको
आफैँ परिभाषा बनाइरहेछन्
हरेक चीजहरूको
एक हुल प्रबुद्ध प्रेमीहरू ।
खै यो प्रेम चक्र कति दिन चल्ला ?
स्वयं जान्दैनन् यसका प्रणेताहरू
उनीहरूलाई थाहा छ वा छैन
जीवनले कठोर पाठ पढाएरै छोड्नेछ
र एक एक परीक्षा लिनेछ
हिसाबकिताब चुक्ता गर्नेछ
प्रेमपथलाई प्रेम मार्गमा पु¥याउने वा नपु¥याउने
जीवनले अकाट्य निर्णय गर्नेछ
हडबडाउँदै बस्नेछन् परीक्षार्थीहरू
एक हुल असहाय प्रेमीहरू
खुइय खुइय गर्दै बाहिदिनेछन्
र यथार्थको ऐनामा हेर्नेछन्
तिनको प्रेमपथ कति साँगुरो थियो
कति घुम्ती थिए र कति दलदलहरू
कतिचोटि दिशा उल्टो थियो ।।
पुग्न नसकिएको प्रेम मार्गलाई
हेर्नेछन् धित मर्ने गरी
अनि भन्नेछन् ‘जे भो राम्रै भो’
एक हुल भुक्तभोगी प्रेमीहरू ।
(स्रोत : रचनाकारको ब्लगबाट सभार)