~अनन्त निरौला~
न धर्ती मेरो
न आकाश नै
न यी बीच बुर्कुसी मार्ने
पवन र जूनका किरण नै
न यो गाँऊ मेरो
न गाँऊ छेउको घर नै
न यो पोखरी मेरो
न पोखरी डिलको
वरपिपल नै
न यो परालको टाल मेरो
न टाल राख्ने बारी नै
न यो सिसौको बोट मेरो
न आँगन नजिक रहेको
लतामको बोट नै
न चना उमार्ने चौमास मेरो
न चौमास जाने आली नै
न गाई गोठ र गाईवस्तु मेरो
न घर बाहिर उभिएको
प्यारो निमको बोट नै
न मन मेरो
न भावना
न रिस मेरो
न संयमता
न अहंकार मेरो
न विनम्रता
न बुद्धि मेरो
न विवेकहिनता
न ईर्ष्या मेरो
न प्रसन्नता
न करुणा मेरो
न क्रुरता
न क्षमा मेरो
न उदन्डता
न जन्म मेरो
न मृत्यु नै
न यो शरीर मेरो
न अस्तु नै
न म जन्मदाको आवाज मेरो
न म अस्ताएपछिको
निस्तब्धता नै।
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )