~क्षेत्र प्रताप अधिकारी~
पटुकामा
अनिकाल कसेर
कर्णाली रोएको बेला
म हुम्ला लेखिरहेछु
मेरो कविता –
समोसा भैदिएको भए
अक्षरका डल्लाहरू
केही त्यता पठाएर
केही यता बेचेर
कम्तीमा पनि
समोसा साहू त भइँन्थ्यो
त्यस्तो केही भएन
म बाँझो कवि
थारो कविता लेखिरहेछु ।
गाउँमा
कति मनहरू पैरो गएर
मर्स्याङ्दी बगेको बेला
म सहरमा
सपना सुतेर
रोदीघर देखिरहेछु
मेरो गीत-
सुनाखरी भैदिएको भए
केही भन्ज्याङमा फुल्थ्यो
केही पुष्प मेलामा बिक्थ्यो
कम्तीमा पनि
फूल पसले त भइँन्थ्यो
त्यस्तो केही भएन
म बुध्दू कवि
बेकार कविता लेखिरहेछु ।
देश भत्किएर दिनदिनै
दुखी भएको बेला
इतिहास सम्झिएर
पृथ्वीनारायण लेखिरहेछु –
तिमी
एउटा देश बनाएर बाँचिरहेछौ
हामी
त्यही देश भत्काएर मरिरहेछौं
मेरो कलम –
काठ भैदिएको भए
केही थाम बनाएर
देश थाम्ने थिएँ ।
केही चिर्पट बनाएर
दाउरा बेच्ने थिएँ
कम्तीमा पनि
दाउरे त भइँन्थ्यो
त्यस्तो केही भएन
म अनुत्पादक कवि
निष्फल कविता लेखिरहेछु ।
(स्रोत : रचना द्वैमासिक)