~प्रकाश आचार्य~
इन्द्रेणिका रङ्गहरू मिसिएको
रंगीन केश पालेकी,
तारामण्डलका ताराहरु चम्केसरी
चमक्क चम्किने भेष पहिरिएकी ,
मौशम खुल्दा मुसुक्क मुस्कुराउने
हिमालझैं दन्तलहर खोलेर हाँसेकी,
हिउँपर्दाको बखत् यत्रतत्र
हिउँ नै हिउँले जमीनलाई पोतेसरी
मुलायम ओठलाई
लपक्कै लिपिस्टिकले पोतेकी,
झिलिमिलि झिलिमिलि साँझमा
बुलन्द संगीतको मधुर्यतामा
नृत्य प्रस्तुत गर्न लालयित भएकी
साँझपखकी नर्तकी ।।
रविले प्रकाश धर्तीमा
छताछुल्ल पोखेझैं,
आफ्नो कल्कलाउँदो बैंश
पोख्नलाई रुचाउने,
पसलेले आफ्ना ग्राहकसामु
सामाग्री जोखेझैं
आफ्नो यौवनको आयतन
जोख़नलाई रुचाउने,
आफ्नो लचकदार कम्मर
सयौं ठाउँ भांच्नलाई रुचाउने ,
सोमरस लिंदै, केश फिजाउँदै,
ज्यान फालेर नाच्नलाई रुचाउने,
झिलिमिलि झिलिमिलि साँझमा
बुलन्द संगीतको मधुर्यतामा
नृत्य प्रस्तुत गर्न लालयित भएकी
साँझपखकी नर्तकी ।।
धुम्रपान, मदिरापानसंगको मित्रताले
झुम्म परिरहेका दर्शकका माझमा
आकाशको टहटह जून,
धर्तीका भिन्न प्रकृतिका
दियालोद्वारा जाज्वल्यमान
आजको यो साँझमा,
हर्षविभोर भई उमङ्गका साथ
कम्मर मर्काउँदै,
पाउजू बजाउँदै,
घरी- घरी चर्को आवाज निकाल्दै
उफ्री -उफ्री,
नाच्नलाई अभिरुचि देखाउने,
झिलिमिलि झिलिमिलि साँझमा
बुलन्द संगीतको मधुर्यतामा
नृत्य प्रस्तुत गर्न लालयित भएकी
साँझपखकी नर्तकी ।।
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )