गीति कविता : जिन्दगी

~कृष्ण वस्ती~Krishna Wasti_1

निधारमा मुस्कुराउँने टिकुलीको दाम ।
के दिऊँ म जिन्दगीलाई सुहाउँदो नाम ?

साँझपख जगाइने आरतीको ज्योति ।
हातजोडी देउरालीमा चढाइने पाती ।।
तापूँ-तापूँ भन्दाभन्दै अस्ताउने घाम ।
छोटो-मीठो निदरी हो जिन्दगीको नाम ।।

घामपानीको इन्द्रधनु एकैछिनको बर्षा ।
दु:ख पनि छिचोलेर हातलाग्ने हर्ष ।।
तिर्खालुले छोडेपछि एक्लो हुने ठाम ।
बिरानको पँधेरी हो जिन्दगीको नाम ।।

एकैपल्ट पलाउने वैशाखको पात ।
दोबाटोमा पुगेपछि भिन्न हुने साथ ।।
नाम-थर ठेगानाले रङ्गिएको खाम।
सानोसानो सन्देश हो जिन्दगीको नाम ।।

बज्दाबज्दै टुङ्गिएको सारङ्गीको धुन ।
घामजून रहेसम्म बाँच्नखोज्ने मन ।।
बैंसालुले छोडेपछि रित्तिएको गाम ।
विहानको लालिमा हो जिन्दगीको नाम ।

निधारमा मुस्कुराउँने टिकुलीको दाम ।
के दिऊँ म जिन्दगीलाई सुहाउँदो नाम ।।

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in गीति कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.