कविता : हे देवी

~सरिता तिवारी~Sarita Tiwari

हे देवी !
देखाइदेऊ
यो दैत्यहरुको साम्राज्यमा
तिम्रो बिराट काली रुप

दुई हातमा चम्चमाइरहेको त्रिशुल
क्रोधले धप्धपाइरेका आँखा
रगत लप्लपाइरहेको जिब्रो
घँुडा घुँडा छुने खप्परको माला
भष्मले पोतिएको अर्धनग्न जिउ !

बालखैदेखि देखेकी हुँ
दशैँघरहरुमा राखिएका तिम्रा मूर्ति
तिम्रा चित्र,पोष्टर ,थरि थरि कलाकृति
र बाघमाथि विराजित तिम्रो ब्राण्डेड तस्वीर
जहीँ कहीँ देख्छु अझै पनि
फुटपाथमा
पूजाकोठामा
वा आस्थाका नाम अनाम दुकानहरुमा

तर हे दुर्गे !
मलाई हेर्नु छ
तिमीले हुङकार गरिरहेको रौद्ररुप !
जब ताक्थे असुरहरुले देउताहरुको राज
र डग्मगिन्थ्यो स्वर्गको सिँहासन
त्यसपछि तिम्रो अर्चना गर्थे काँतर देउताहरु
र तिमी बनिदिन्थ्यौ तिनको सुरक्षाका लागि
ढाल

ज–जसका लागि लडेपनि
आखिर सावित गरेकी हौ तिमीले
अपराजेय वीरता
तर हे महाशक्ति !
तिमीले महिसासुरबध गरेर फर्किएपछि पनि
घुमिरहेको छ पृथ्वी
तिमी उभिरहँदैमा
कहाँ उभिरहन्छ र घडी ?
युगका युग
कल्पका कल्प
कुन निद्रामा छौ देवी ?
पग्लँदा पग्लँदैको तामाजस्तो रुप लिएर
कहिले हो तिमी जुरुक्क उठ्ने ?
हेर्नुछ मलाई
दैत्यहरुको संहार गरिरहेको
तिम्रो हिरोइक अन्दाज !

थाहा छ ?
तिमी निदाइरहेको बेला
उनीहरुले तिमीलाई बोक्सी बनाए
र बलात् ख्वाए रछ्यान
बलजफ्ती थुनेर कोठीभित्र गरिदिए ‘वेश्या’ करार
र नैतिकताको सफेदपोष भिरेर
लेखे धर्मका नाममा पापका मन्त्र

तिमी निदाएपछि
अवचेतनमै घोकाइएको हो तिमीलाई
सहनशीलताको अद्वैत वर्णमाला
र गराइएको हो तिम्रो चेतनामाथि पक्षाघात

त्यसपछि नै थालिएको हो
तिम्रो निरपेक्ष सौन्दर्य पूजन
तिम्रा आँखा र ओँठहरुको विज्ञापन
तिम्रा भङ्गिमा र सेक्स अपिलको चर्चा
र सिद्धिएको हो यो चराचर जगतमाथि
तिम्रो अपार शक्तिको भाष्य ।

यतिबेला
तिम्रो योनीमा हाम्फालेर
सारा लाजहरुले गरेका छन् आत्महत्या
र स्थापित भएको छ
मात्र पाँच इन्चको बर्बर बस्तुको सत्ता
जहाँ आफ्नै छोरीमाथि घोप्टिएर तृप्त भएको बाउ
हरिया दाँत ङिच्याएर गरिरहन्छ
यो फोहरी सत्ताको पहरेदारी

अचाक्ली भो ! अतिचार भो !!
हे महामातृका !
द्वार द्वार, गाउँ—शहर
नरही कहीँ खाली ठाउँ
बनेको छ घिनै घिनहरुको साम्राज्य

अब त ब्यूँझिदेऊ
यो कठोर निद्राबाट
देखाइदेऊ तिम्रा कोटी कोटी हातहरुको शक्ति
देखाइदेऊ तिम्रो त्यो दुर्लभ रुप
तिम्रो क्रोधको हुण्डरीले
आओस् भयङ्कर उथलपुथल
उठोस् साराका सारा हिमालहरु छिचोल्ने ज्वार समुद्रमा
वा फुटुन् जम्मै महासागरहरु
छिद्रै छिद्रा भएर चाल्नी परोस् धरती
बरु सिद्धियोस् सभ्यता
र रित्तियोस् पृथ्वी

चाहिएन,
युद्धबन्दीजस्तो
पराजयको बिल्ला लागेको आत्महन्ता जिन्दगी
मलाई लड्नु छ तिमीसितै उभिएर
इतिहासको अन्तिम लडाईँ
र वरण गर्नु छ बरु
शहादत ।

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.