~आचार्य प्रभा~
मलाई यत्तिखेर,
भुई कुहिरो भएर उड्न मन लागेको छ
अँ ह —आकाशिन मलाई मन छैन
म ,निस्तेज भएर नै रमाउन चाहन्छु
म ,देउरालीलाइ चुम्न चाहन्छु
भञ्ज्याङलाई अङाल्न चाहन्छु
भीर,पाखासँग मीत लाउन चाहन्छु ।
मलाई यत्तिखेर क्षितिज भएर
हाँस्न मन लागेको छ ,
अँ ह —मलाई
फराकिन मन छैन
म ,रङिन भएरै सजिन चाहन्छु
म,आकाश र धर्तिलाई जोड्न चाहन्छु
पहाडलाई छाम्न चाहन्छु
साँझलाई रङाउन चाहन्छु ।
मलाई यत्तिखेर ,
शिरिष भएर फुल्न मन लागेको छ
अँ ह —,
मलाई गुलाब हुन मन छैन
म, नीलो रङ भएर फुल्न चाहन्छु
म ,शान्तिको रङ भएर झुल्न चाहन्छु
आकाशसँग दाँजिन चाहन्छु
नीलो झरनामा परीभाषित हुन चाहन्छु
शान्तिको पर्याय शान्त शितल
नीलो दह हुन चाहन्छु ।
(रचना २०६० साल नेपाल बिभिन्न मिडियाहरुमा बाचन् गरिएको )
(स्रोत : ईलम्जुङ् डट काम)