~मनु लोहोरुङ राई~
अचेल मान्छेहरुले
फूल मन पराउँदैनन्
कि फूलले मान्छे
मन पराउँदैनन्
फूल र मान्छेबीचको
वैमनश्यता बढेर
अनगिन्ती मलामी विचारहरु
जन्मिरहेछन्– एकोहोरो,
त्यही एकोहोरो
जन्मिएका विचारहरुको
दोहोरो खेलले
भाव आन्दोलन गर्दछ
सडक आन्दोलन गर्दछ
र आश्वमेध घोडाजस्तो
दगुर्छन् ती
वस्तीभित्र, वस्तीबाहिर
शहरभित्र, शहर बाहिर
अझ देशकै सिमाना काटेर
निस्किन्छन्– भित्रिन्छन्
फूलहरु छन्
तर फूलभित्र पनि पराग छैन
फूलमा रंग छ, सुवास छैन
जब फूलमा सुवास हुँदैन
तब फूलको अस्तित्व हुँदैन
जब कुनै वस्तुको अस्तित्व हुँदैन
तब त्यो निकम्मा हुन्छ
समवेदनाहीन मुटुहरुबाट
शान्तिको आवाज निकाल्ने दधीचिहरु
फूलको परागसेचन रोकी रहेछन्
फूलले भाषा बुझिरहेको छैन
फूलले मौसमको प्रतिकुलता र प्रभाव
बुझी रहेको छैन,
अब फूलहरुले पनि
मौसमको भाषा बुझ्नु पर्छ
प्रतिकुल मौसमै रंग बदल्नु पर्छ
आँगनको डीलमा
भरखर घाम झुल्किएको छ,
बार्दलीमा भरखर जून ओर्लेको छ
विचारका दर्के झरी पर्दै छन्
र पर्दै गर्छन्
तप्कनाहरु छलेर पनि
फूल फुल्नु पर्छ, फक्रिनु पर्छ
विचारका पत्रदलहरुबाट
फल लाग्नु पर्छ
फूलहरुले अब फुल्नु पर्छ
आँगनमा, याक्साहरुमा, भस्मेहरुमा !
मनु लोहोरुङ राई
न्यूयोर्क
(स्रोत : विश्वन्युज डट कम )