कविता : फूलको माला

~केशव शिलवाल~keshab-silwal

तपाईं जो घाँटी भरि-भरि
अनुहारै छोप्ने गरी
भिरेर फूलको माला
जाँदै हुनुहुन्छ देशको सपथ लिन

यस्तो लाग्छ-
तपाईं जाँदै हुनुहुन्छ
कुनै एउटा खतरनाक युद्धमा

यस्तो लाग्छ-
त्यो फूलमाला होइन
नरमुण्डमाला हो
हाम्रै केटाकेटीको टाउको काटेर
भिरिरहनुभएको छ- घाँटीदेखि आँखासम्म

अनि, तत्काल बन्द हुन्छ- तपाईंको आँखा
तपाईं देख्न छोड्नुहुन्छ- सत्य
तत्काल बन्द हुन्छ- तपाईंको कान
तपाईं सुन्न छोड्नुहुन्छ- नागरिकको चित्कार
तत्काल बन्द हुन्छ- तपार्इंको नाक
तपाईं छुट्याउन सक्नुहुन्न-
गन्ध र सुगन्धको भेद

फूलको मालाजस्तो देखिए पनि
वास्तवमा-
त्यो गोलीको माला हो
जुन भिरेर घाँटीमा
खुङ्खार डाकाजस्तो
तपाईं निस्कनुभएको छ- डकैती गर्न

डाकुको सरदारजस्तै
सजिएको छ- घमण्डले
तपाईंको कुटिल मुस्कान
यस्तो लाग्छ-
देशको निम्ति
त्यो कुनै अनिष्टको सङ्केत हो

निकै आशक्ति राख्नुहुन्छ तपाईं
फूलमालामा
अनि दर्शनभेटमा
तपाईंलाई मनपर्छ
गुलामहरूको दुरुस्त चाकडी
तर, नराख्नुहोस् त्यति धेरै आशक्ति
फूलमाला त चढाइन्छ लासहरूमा पनि

हुन त
लासभन्दा बढी के हुनु भो र तपाईं
देशका निम्ति ?

मानिसहरू यसरी सधैँ
लाग्न सक्दैनन् लासहरूको पछि-पछि

तपाईं जो घाँटी भरि-भरि
अनुहारै छोप्ने गरी
भिरेर फूलको माला
जाँदै हुनुहुन्छ देशको सपथ लिन।
(स्रोत : थाहाखबर डट कम)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.