~विप्लब प्रतीक~
अष्टमानको पसलमा
फेरि आए गौँथलीहरू—
जसरी आउँथे वर्षैपिच्छे, वर्षौंदेखि
र ऊ बस्ने चकटीमाथिको दलिनमा
बनाउन शुरु गरे गुँड ।
हरेक वर्ष यसरी नै आउँछन्
असनका पसलहरूमा
र, रत्तिभर नडराइकन शुरु गर्छन्
बनाउन गुँड ।
फागुनको रात,
घण्टाघरले नौ बजेको अन्तिम घण्टी हानेपछि,
अष्टमान पसल बन्द गर्छ
र, बुईगलतिर उक्लिन्छ ।
मसला, सिद्रा र गोकुलधूपको मिश्रित गन्धमा
भुटन तारेको गन्ध थपिन्छ
र चामलको तिक्खर रक्सीको वास्नासँग मिसिएर
हुरुरुरु ओर्लिन्छ र ह्वास्स छिर्छ पसलभित्र,
केहीबेरपछि लसुनको सागसँग
रातो खुर्सानी, जिरा र अदुवाको मसलामा पकाएको
राँगाको मासुको छिपछिपे स्वादिलो झेलसँगै
ताइचिन चामलको वास्ना पनि
बाटो खोज्दै आउँछ चोटाबाट
र छिर्छ छिँडीमा रहेको पसलभित्रै,
गौँथली दाहिनेतिरको पँखेटा
तनक्क तन्काउँछे
अनि एकैछिनमा गुटुमुटु भएर गुँडुल्किन्छे गुँडभित्र ।
भोलिपल्ट, अष्टमान फेरि उघार्छ खापा पसलको
गौँथली उसकै सुरमा भुरुरु उडेर जान्छे, फर्केर आउँछे,
चलिरहन्छ आवतजावत पसलमा पनि ।
अष्टमान र गौँथली आ–आफ्नै तालमा एकअर्कालाई दखल नदिइकन
एकै थलोमा आ–आफ्ना कारोबार गर्दछन्,
गौँथली त्यही गुँडमै अण्डा पार्छे, कोरल्छे
र बचेराहरूलाई चारा ल्याएर ख्वाउँछे,
बचेराहरू हुर्किन्छन्, उड्न थाल्छन्,
अष्टमान सामान थप्छ, बेच्छ,
तमाखु खाँदै हिसाब गर्छ नाफा र घाटाको ।
जेठ लाग्दानलाग्दै सारा गुँड रित्ता हुन्छन्,
अर्को वसन्तसम्मका लागि गौँथलीहरू
बसाइँ सर्छन् अर्कै देश ।
यतिखेर, गौँथलीको बसाइँसराइ सम्झिदै
म डबलीको डिलमा बसेको छु,
अष्टमानको छोरोले ब्याङ्कसँग ऋण लिएर
पुरानो घर भत्कायो अनि सिसाले छोपिएको शपिङ्ग सेन्टर बनायो ।
“गौँथलीले गुँड कहाँ बनाउला ?”
झवाट्ट मनमा एउटा सोच आयो,
जुरुक्क उठेँ
हिँड्न लाग्दा कुनै चीजमा प¥यो खुट्टा,
निहुरेर हेरेँ— एउटा मृत गौँथली रहेछ,
आङ्ग सिरिङ्ग भयो,
आँखाचिम्सो पार्दै चारैतिर नियालेँ—
विरानो विरानो लाग्यो यो चिनेको ठाउँ ।
अर्को साल गौँथलीहरूले अन्तै कतै गुँड लगाउलान्,
अर्को साल म पनि अन्तै कतै जानुपर्ला—
यो शहरमा बन्धक परेको मेरो घर
त्यतिञ्जेलसम्म रहला–नरहला !
(स्रोत : हिमाल खबर))