कविता : आमाको अन्तर्वार्ता

~सङ्गीत श्रोता~Sangeet Srota

सक्छौ भने बाबु,
सुनाइदेऊ
मेरो बेथालाई उल्था गरेर
छापिदेऊ
यो पिरको फोटो खिचेर !

मेरो भत्केको छिया–छिया मुटु
लैजाऊ र जोडिदेऊ
क्रान्तिकारी विधायकको छातीमा
गहभित्र पिलिएको मेरो बह
टाँगिदेऊ
नवनियुक्त मन्त्रीज्यूको कलेजी कुनामा
सक्छौ भने नानी
शहर पसेका हाम्रा नेताका नसामा
भरिदेऊ
जंगलभरि लत्पतिएको र सडकभरि कट्कटिएको
मेरा छोराछोरीहरूको चोखो रगत
सक्छौ भने बाबु,
महलमा बसेका महाजनका भोजनमा
थपिदेऊ
मेरो जिजुबाजेकै पालादेखिको
भोक र तिर्खाको यो टर्रो स्वाद !

रुँदारुँदै रातभरि
सुन्निएका मेरा राता र ओसिला आँखाहरू
साटिदेऊ
चश्माको ओत लागेका उनीहरूका हँसिला आँखासँग
यो अनिद्रा, बेचैनी र बिमार
पुर्‍याइदेऊ
उनीहरूका कुर्ची, बिस्तारा र सिरानीहरूमा
सक्छौ भने बाबु,
मेरा बेपत्ता नातिनातिनाका तेजाबी सपना
खन्याइदेऊ
उनीहरूको मीठो निद्राभित्र
सक्छौ भने नानी
यो घरको अभाव र आधेरो
हुलिदेऊ
उनीहरूको सुविधासम्पन्न निवासभित्र !

यो पसिनाले मैलिएको थोत्रो गम्छा
बेरिदेऊ
उनीहरूको सुकिलो गलामा
यी चर्चरी चिरिएका कुर्कुच्चा
जोडिदेऊ
उनीहरूका मुलायम पैतालामा
सक्छौ भने बाबु,
मेरा भज्जाभज्जीका भाँचिएका हातखुट्टा
साटिदेऊ
चिल्ला गाडी र चहकिला जुत्तासित
सक्छौ भने नानी
उखुम जस्तो यो बस्तीको सुस्केरा
छिराइदेऊ
उनीहरूका झ्याल र ढोकाभित्र ।

साँच्चै, ओ पत्रकार नानी !
नझिज्याऊ भो सोधेर नानाभाँती
सक्छौ भने सुनाइदेऊ
मेरो बेथाको उल्था गरेर
छापिदेऊ
यो पिरको फोटो खिचेर !
०००

(रचना : २०६४ भदौ १८ किरेडाँडा)

(स्रोत : मूल्याङ्कन पूर्णाङ्क–१५९, फागुन २०६४)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.