पछ्याउदा पछ्याउदै
गोरेटाहरुले
आफ्नो स्वरुप बदल्न थाले पछि
अनगिन्ति उकाली र आरालीहरु आउन थाल्छन्
अनगिन्ति घुम्ति र मोडहरु छाउन थाल्छन्
तव जीउने क्रमका सीधा धर्साहरु
अस्वभागीक रुपले
वाङ्गोटिङ्गो वन्न थाल्छन्
अनि नचाहेरै पनि संकट मोलेर
कठिनाईसंग पौठेजोरी खेल्नु पर्छ
र झेल्नु पर्ने अनेकौ पाटाहरु पार गर्दै
समय सापेक्ष वन्नको लागि
तिनै स्वरुप वद्लिएका गोरेटाहरुलाई
पछ्याउन विवश वन्नु पर्छ
सहज यात्राको खोजीमा
जव पाईलाहरु अगाडी वढ्न खोज्छन्
तव तिनै जीउनुका क्रम उपक्रमहरु
मडारीन थाल्छन् अनेकौ समस्याहरुको हुरीवताससंग
तै पनि जोखीम यात्रालाई पछ्याउनु परेकै हुन्छ
यसरी नै हरेक मान्छे
जीवन जिउनुको नाममा
फस्दै जान्छ काहाली लाग्दा गारेटाहरु पछ्याउदै
सवैलाई लाग्छ यस्ता गोरेटाहरु नाघ्दै जादा
गन्तव्यमा पुगीन्छ
आखीर काहा छ त्यो गन्तव्य ?
किन कसैले किटान गर्न सक्दैनन्
कि त्यो नै अन्तिम गन्तव्य हो भनेर
यहा त अन्तिम भन्नु पनि झुटो मात्र रहेछ
किनकी अन्तिम पछि पनि
अनगिन्ति अन्तिमहरु हुदारहेछन्
अव कुनलाई अन्तिम गन्तव्य ठान्ने ?
जव कि अन्तिम सोचेको र ठानेको गन्तव्य नै
अन्तिम नभई दिए पछि
जिवन यसरी नै सत्यताको खोजीमा
झुटोको आवरण भित्र फसी रहेको हुन्छ
तर पनि वाचुन्जेल अनेकौ आधीभेरीको सामना गर्दै
अगाडी वढ्नुलाई जिवन ठान्दछ
वास्तवमा त्यो त जिउनुको क्रम उपक्रम मात्र रहेछ
आखीर पछ्याउदा पछ्याउदैका
गोरेटाहरुले
आफ्नो स्वरुप बदल्न थाले पछि
अनगिन्ति उकाली र आरालीहरु आउन थाल्छन्
अनगिन्ति घुम्ति र मोडहरु छाउन थाल्छन्
तव जीउने क्रमका सीधा धर्साहरु
अस्वभागीक रुपले
वाङ्गोटिङ्गो वन्न थाल्छन्
(स्रोत : कविता कुसुम)