~लक्ष्मण श्रेष्ठ~
आउलान् हजार चुनौती
बाधा र बिघ्नहरू
तिमी हिंडिरहनु
हिंडिरहनु।
आशाको ज्योति बाल्दै
अन्धकारको पहाड ढाल्दै
आफ्नै आत्माको मसाल बालेर
दुःखलाई पुछ्दै हत्केलाले
निराशालाई पन्छाउँदै मन्छाउँदै
तिमी हिंडिरहनु
हिंडिरहनु।
म तल बेसीबाट तिम्रो पदचाप खोज्दै
त्यतै आउँला
तिमी गएतिरै
कहाँ पुग्यौ भनेर आँखा उठाएर हेरुँला
साथीहरूलाई इसारा गरी गरी देखाउँला
छुटेकाहरूलाई छिटोछिटो
सिठी हालेर बोलाउँला
तिमी गइरहनु गइरहनु
डाँडामा फुलेका होलान् केही फूलहरू
तिम्रै निम्ति हो
ठिक्कै छ सजाउनु केशमा,
पखेराहरूमा गुञ्जिएका होलान् केही गीतहरू
तिम्रै आगमनको खुसीमा हो
गुन्गुनाउनु तिमी पनि,
लेकमा बुढी आमा
मोही र मकै बोकेर तिम्रै प्रतिक्षामा होलिन्
खानु
खानु र हिंडिहाल्नु,
पुग्नुपर्ने त अझै पर पो छ त
काला वनहरू
सताउन आउने भूतहरू
पिशाचहरू र किचकन्याहरू
होलान् ती पनि बाटोमा
नअल्मलिजानु
नडराइजानु
छुट्लान् केही साथीहरू त्यता पनि
किचकन्याको रुपमा भुलेर
नठम्याई उसका उल्टा पैताला,
हतासिएलान् केही साथीहरू त्यहाा पनि
निंदनीको रुपले तर्सेर
देख्दा आँखा छातीमा,
अरे ! ती त गतिका बाधकहरू हुन्
सङ्घर्षको प्रकाशले डढाइदिनु
छुटेका साथीहरूलाई
अफसोचको सुस्केराले उन्यू घारीमै छोडिदिनु
तिमी हिंडिरहनु
निरासाका घुम्तीहरूमा
आशाको गीत गाउादै हिंड्नु
अन्योलका मोडहरूमा
विश्वासका कथा सुनाउादै हिंड्नु।
तिमीसँग इतिहास छ
बाटो त्यसैबाट खोज्नु
तिमीसँग वर्तमान छ
नछोड्नु त्यसलाई
अहँ नछोड्नु।
आज त तिमी हिंडिहाल्नु
यो नयाँ युगको यात्री
पुग्नुपर्ने त टाढै छ
तिमी हिंडिरहनु
हामी तिम्रो पदचाप पछ्याउँदै
आइरहनेछौं
छुटेकाहरूलाई बोलाइरहनेछौं
तिमी हिंडिरहनु
हिंडिरहनु ।
(स्रोत : मजदुर दैनिक)