~विजय महर्जन ‘श्रीजय’~
कहिले खडेरीमा
एक छाक अन्नको आशमा बाचेँको छ
कुपोषित कर्णाली
कहिले हिउँदमा
प्रकृतिको बलात्कार सहेर बसेको छ
कहिले ग्रिष्ममा
एउटा भेडासँग नूनको विनिमय गर्न
उत्तर धाएको छ
कहिले दशैमा
जूनको उज्यालोसङ्गै
दक्षिणतिर छोरोको बाटो हेर्दै बसेको छ
र धिक्कार्दै छ
आफ्नै भाग्यलाई कर्णाली।
जुम्लाको स्याउ जत्तिकै रसिला,
शे-फुक्सुन्डुको पानी जत्तिकै निर्मल
अंकलालका बाल सपनाहरु
जमिरह्यो उनकै मनभित्र
थिन्लेका ‘डेट एक्स्पाएर्ड’आशाहरु
सेताम्मे हिँउले पुरिदिएको छ
र आफ्नै देशमा
सौतेनी सन्तान भएको छ कर्णाली।
यतिबेला मेरो कविताले
आशु पुच्छ्न सक्तैन कर्णालीको
न टेवा दिनसक्छ मलामी बोक्ने हातहरुलाई
न त चरो बनी फुरुरु उडी जान सक्छु
यता दक्षिणमा
म कर्णाली सम्झिएर रोइरहेछु
र गिज्याउदै छ
मलाई आफ्नै नियतीले
उता कर्णाली, अझै दुखिरहेको छ
उत्तरबाट कर्णाली अझै
अविरल रोइरहेको छ।
जय, सिड्नीबाट
November 11, 2008
(स्रोत : माइ संसार डट कम)