~त्रिभुवनचन्द्र वाग्ले~
दाजु अमारोको जुङाको रेखी नबस्दै
बैनी अरुबखडा सिउँदोभरि
सिन्दुर भरेर, अलिअलि नयन झारेर
मलाई हेर्दै गई
आमा शिशिरको प्रसुति वेदना निको नहुँदै
छोरी–आरुफूल शौभाग्यवती भइछ
लौ, मैले कानुनको ठेली पढ्न पाइन
बालविवाहलाई कुन भाषाले व्याख्या गरेको छ कुन्नी
हो, माइती अरण्य रोदनमा
कन्यादान दिन्छन्
म आरुको रूख भएर
जुरेलीलाई गुँड निर्माणमा
हाँगा–अङ्लागो फैलाइदिन्छु
आऊ, गुँड लगाऊ, बच्चा कोरल
मलाई पारिबाट वसन्तले
पत्र पठाएको छ, ढुुकुरलाई हल्कारा बनाएर
जुरेलो प्रेमकथाको साक्षीमा कल्की हल्लाउँछ
गीत गाएर न्याउलीले
खै कसको वाग्दान गरे
अब त सुरोचरु होमनले
गृष्मका बादल उठ्नु पर्ने हो
आकाश–मण्डपमा
आऊ हामीलाई च्यादरले छोपिदेऊ
हामी दाम–सुपारी खेल्छौं
सखी मलाई बुकुवाले नुहाऊ
म स्वर्ण शरदको आँगनमा घ्वाई खेल्न चाहन्छु
उफ्रदा म अलिअलि असिना झर्नुपर्छ
अलिअलि पसिना झनुपर्छ ।
वर्षा ः मावलीखलक
टिप मेरा आँशु र बर्साऊ साउन–भदौ
अनि पो त सङ्क्रान्तिमा मावली आउँदा
दोपरे खाजा खाने गैह्रीखेत गर्भवती हुनेछ ।
मामाले न्वागीमा अन्नपूर्ण पुज्नेछन्
जसरी मैले हेमन्तलाई पुजें र
सिउँदोभरि सिन्दुर लगाएँ ।
२०७३ माघ २९ गते
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )