कविता : वेपत्ता मौसम

~ज्योति जङ्गल~Jyoti Jungle

यो साझमा
यादको हावा बोकेर
वेपत्ता मौसम आइपुग्यो ।

युद्धको कुहिरोमा
भविता खोज्दै हिंडेको
एउटा सन्तान
बेखवर कहां पुग्यो ?
कहां पुगे
बेपत्ताको छाती टेकेर
समयलाई शासन गर्नेहरु ?
कहां सुकाए
आमाको आ“शु पुछेको टालो
र सुकिला भए ?

अंध्यारामा
अंध्यारै भो कि उस्को अनुहार
कस्तो भो होला उस्को रङ ?
मेरो छातीमा टांसेर उस्को पुरानो तस्वीर
अखवारले खिचेको फोटाको जस्तो
कि माटाकै जस्तो ।

दिउंसो जांगर उठ्दैन
राती सपना सुत्दैन
नचिने झैं बोल्छ आफ्नु जिन्दगी
यी सब सांझ जति प्यारा छैनन् ।

यहि सांझमा
हो यहि सांझमा,
म खोज्छु तारातारामा
के ऊ तारा भइसक्यो ?
कि बास बस्तै बलैंसीमै आइसक्यो ?

यहि सांझमा
म तारा र आहटको दोधारमा
हावासंग बात मार्न थाल्छु
र विर्सन्छु केही छिन
ऊ बेपत्ता भएको छ ।

यो साझमा
यादको हावा बोकेर
बेपत्ता मौसम
आजपनि आइपुग्यो ।

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.