~सुरेस खनाल~
अलिकता म हड्बडाएँ,
अलिकता म झस्किएँ।
आत्तिएकै त म हैन,
तर, अलिकता म धकाएँ।
मान्छेको भिड थियो
एकछिन अघि सम्म।
अहिले भर्खर, म एक्लिएँ।
मुख रसिलै थियो शायद;
तर अनायाश जिब्रो लट्पटियो,
ओठ सुकेको भान भयो,
एकछिन मै कयौँ पटक
ओठमा जिब्रो फिराएछु।
अनुहार मेरो ठिकै थियो
बिहान दाह्रि काट्दा।
अहिले लाग्छ केहि बिग्रियो।
म उभिएको छु
तर हिजो अस्ति जस्तो
सम्हालिन सजिलो लागेन।
पाइँटको माथिल्लो घेराबाट
मेरो कमिज निस्केको जस्तो लाग्यो।
हेरेँ, ठिकै देख्दै छु
जिउमा अप्ठ्यारो भयो।
दायाँ कुम शायद माथि उचालेछु कि?
कुम मिलाएँ,
अझै केहि कुरा मिलेन।
आँखामा चिप्रा पो छ कि?
आँखा मिचेँ बिस्तारै
अहँ सजिलो भएन!
कतै बसेर यो सब भएको भए हुन्थ्यो।
तर उफ! म खुल्ला छु अहिले
किनकी म उभिएको छु।
म उतै फर्केको छु
हो, भर्खर देखेँ उनलाई,
म उतैतिर फर्केको छु,
सडकको त्यो छेउमा,
जता उहि पुरानो गुलाबी सल ओढ्दै
मेरि ‘भुतपूर्व प्रेमिका’ उभिएकी छिन!!
-यु एस् ए
November 02, 2006
(स्रोत : साझा डट कम)