~धनराज गिरी~
ढल्दैन यो स्वाभिमान कसै गरे पनि
छातीमाथि देवेन्द्रको बज्रै परे पनि
भन्ने गर्थे बुढापाका हित हुने कुरा
मर्नुहुन्न मानवता जे-जे मरे पनि
गरौं रक्षा कोपिलाको महकिन्छ बाग
टर्छ खाँचो आँगनको फूलै झरे पनि
स्वर्ग नै हो जन्मभूमि ममता हो सुधा
नबिर्सौं है आमालाई सिन्धु तरे पनि
जोगाएरै छाड्छौं हामी शान लुम्बिनीको
शकुनिले अशान्तिको बीउ छरे पनि
(स्रोत : प्रतिनिधि नेपाली गजलहरू – गजल सङ्ग्रह – सम्पादन : ललिजन रावल)