मनोविश्लेषणात्मक कथा : गुम्सिएका ज्वारभाटाहरु

~कल्पना किरण~kalpana-kiran_jeevan-adhikari

अस्ति भर्खर गएको मेरो जन्मदिनले ठ्याक्कै २७-२८ बर्ष कति पुर्यायो गन्ने कष्ट पनि गरेकी छैन | यो उमेरमा जन्मदिन आउनाले खुसि भन्दा धेरै दर्द दिने गर्छ | आमालाई सोध्ने हो भने त पुरै २९-३० नै पुर्याईदिन्छिन | यो लगनले भरिएको बसन्त हृतुमा फेसबुक खोल्यो कि २-४ जना संगिनीहरु डोली चढेको देख्न पाइन्छ | कसैले टम्म परेको पेट, कसैले पेट टम्म हुनुभन्दा पहिलेका प्रेम-लापका तस्वीरहरुले फेसबुक रंगाएका हुन्छन | हर्स-बिस्मातहिन मेरो मन केहि सोच्दैन तै पनि यी हातहरुले कमेन्ट र लाइक दिन पछी पर्दैन | भर्खर बिहे भएका या भर्खर सन्तान प्राप्तिको खुसि मिलेकाहरुलाई के नै कमेन्ट गर्न सकिन्छ र, कस्तो राम्रो जोडी, गड मेड भन्यो, कस्तो राम्रो बच्चा, सो किउट भन्यो आदि |

मास्टर्सको पढाई लगभग सकिन लागिसक्यो | अन्तिम परिक्षा र थेसिस मात्रै बाकि हो | जाचलाइ जति पढे पनि मिल्ने उतिनै हो जस्तो लाग्छ, थेसिस त झन् किन्नै पाइन्छ भन्छन्, चाहने हो भने ! हाम्रो चारजना संगीनिहरुको ग्रुपसंगै बस्दा खासै पढाईको कुरा पनि हुन्न | अन्जु हामी मध्य सबै भन्दा राम्री छे, उसका आसिकहरुका कुरा गर्ने भए पुरा दिन नै सकिन्छ तर त्यो लिस्टमा भएका केटाहरुको नाम सकिदैन | सरिता अलि मोटी छे, जो एउटा एकदमै माया गर्ने मोटेको खोजीमा छे | हाम्ले दुब्लो केटो भए हुन्नर भन्दा फेरी सुहागरातमा करंग भाचिएलानि भनेर मज्जाक गर्छे | सुस्मा पातली भएपनि कुरा चाही ठूलोनै हुन्छ, टि.यूको घासे मैदानमा बसेर देशनै चलाउला झैँ गर्छे | तेस्को गफ जति सुने पनि अर्को कानबाट उडेर जान टाइमनै लाग्दैन ! मेरो जीवन चाही सुन्य छ, भन्ने कुरा नै हुदैन | हामी चारैजनाको उमेर लगभाव २६-२७ माथि नै होला, तर सबैभन्दा रस-बिहिन जवानी मेरै होला |

सबैले आफ्नो आफ्नो कहानीहरु हसाइ हसाइ सुनाई रहेका हुन्छन | अन्जुले गाउको सरकारी स्कूल पढ्दा, स्कूल छोडी भागेर खोलाको तिरमा डेटिङ गएको कहानी सुनाइ | केटो नजिकिदै चुम्मिन खोज्दा भो एस्तो कुरा त बिहे पछी भन्दै भागी रे | स्कूल पछी अन्जु कता त्यो केटो कता सानो कथा तेही सकियो | बीचमा घारकाले थाहा पाएर उसकी आमाले लामो नैतिक शिक्षा नै दिईछन् | सरिताको बिस-हजारी तालको कहानी त झनै रमाइलो थियो, केटो पछी मणिपालमा डाक्टर पढ्न थालेसी अर्कैसंग बेस्त हुन थाल्यो रे | सुस्माको कुरा सुन्यो भने त मेरो आङनै सिरिङ्ग हुन्छ | जे होस् केटिहरुले आफ्नो यौबनको सानो-तिनो तितो-मिठो अनुभव बटुलेकै छन् | मलाई सुना भन्छन, भन्ने शब्दनै छैन |

मलाइ याद छ, पहिले पटक मेरो यौनअंग रक्तरंजित हुदा | भर्खर १२-१३ को थिए होला, आमा भन्दै कराए, उनि दर्गुर्दै आइन | एसो हेरेर उनको पुरानो पेटिकोटको टुक्रा दिंदै भित्र अँधेरो कोठामा लगेर राखिन, ५ दिन सम्म बाबा र दाइलाइ समेत हेर्न पाइन मैले | तेसपछि म भित्रका शारीरिक परिवर्तनहरु बिस्तारै देख्नथाले | सानो-तिनो कुरामा रिस उठ्ने, चाडै खुसि हुने, प्रेममा अलप हुन मनलाग्ने आदि |

मेरी आमा कडा हुन् र छिन पनि | चाहेको खण्डमा दाइ र बाबालाई नारेर गोरुझैँ जोत्न पनि सक्छिन | बिचारा बाबा केहि बोल्न सक्नु हुन्न आमाको अगाडी, दाइ पनि आमाको घमण्डको अगाडी घुडा टेक्नुहुन्छ | बैनी र मेरो राम्रो स्थान हुनेत सम्भावना नै रहेन | केटासंग बोल्नु, हिड्नु भनेको पाप नै हुन्थ्यो, आमाको आखामा |

आठ कक्षामा एउटा केटोले मलाई हेरेको हेरै गर्थ्यो | उसका १०० नजरहरुसंग कहिलेकहिँ मेरो १ नजर जुद्थ्यो पनि | पछी तेस्ले मलाई औधी मन पराउछ रे भनेर अर्कीले सुनाई | मलाई पनि ठीकै लाग्थ्यो, हेर्दामा लुरे भए पनि, पढ्न र कुरा गर्न राम्रै थियो | कहिले कहिँ थापानीको दोकानमा समोसा-तरकारी खान जाम भन्थ्यो तर म कहिले गईन | तर तेती बेला आमाको डर चाही थिएन म भित्र | उसले बोलाउदा चाही राम्रैसंग बोल्थे म | २०५७-५८ सालको नया वर्ष थियो, त्यो केटाले हृतिक रोशन र अमीषा पटेलवाला पोस्ट-कार्डमा हेप्पी न्यु इअर भनेर दियो | One glass whiskey, one glass beer, on my dear happy new year” लेखेको थियो | मैले कार्ड अस्विकार गरिन | किताबको बीचमा हालेर ल्याएको कार्ड बैनी र मैले हेर्दै थियौ, यतिकैमा आमाले देखिन | अरु सबै अंग्रेजीमा लेखे पनि नाम चाही नेपालीमै थियो जुन मेरी साक्षर आमाले सजिलै पढ्न सक्थिन | आमाले हातबाट थुतेको त्यो पोस्ट-कार्ड एकैछिनमा धुजा-धुजा भयो | येही जाबो पोस्ट-कार्डको निउमा आमा म माथि जाइलाग्न पुगिन, अनेक तिता-नमीठा गालिसंगै मेरो कपालको अलिकति मालिस पनि भयो | मैले त्यो केटासंग न राम्ररी बोले न कहिले हिडे, न मसंग कुनै स्पष्टीकरण सोधियो | भयो त सिधै भौतिक कारबाही जस्तो, त्यो बेलामा माओबादी छापामारले गर्ने जस्तो | त्यो दिन आमाको मुखबाट आएको गाली चाही त्यो केटासंग सुते बराबरको थियो | उनले आफ्नो उत्कण्ठा पुरा गरेपछी, आफ्नो धन्दामा लागिन | मेरा आँखाबाट ४-५ दिन सम्म ओभानो हुन सकेन तर त्यसको हेक्का कसैलाई पनि भएन |

त्यो घटना पछी नै मेरो मन मरिसकेको थियो | प्राय केटिहरुकै बीचमा नै बसिरहेको हुन्थे | केटीहरुको बीचमा त्यो केटा आउन सकेन | एस.एल.सी. पास भएसी ११-१२ साइन्समा सुरु भयो | +२ को बिज्ञान पढ्न मा जस्तो मध्यम बिद्यार्थीलाइ सजिलो चाही थिएन | नयाँ नयाँ साथीहरु भेट हुन थालेका थिए | म भन्दा स्मार्ट, रंगिन, र रसिला पनि | लोभलाग्दो गरि ड्रेसअप गर्न उनीहरुले नै सिकाए | लगाउने कुरामा चाही मलाई खासै समस्या थिएन मेरी आमालाइ, जे लगाए पनि खासै फरक पर्दैनथ्यो | केटीहरु केटाहरुसंग बोल्न र ह्यान्डल गर्न राम्ररी जानेका थिए | मैले अरु केहि नगरे पनि राम्री देखिन चाही सिके | उमेर संगै शरीरको पुस्टता बढ्दै थियो, अंगहरुमा रस भरिएर टम्म हुदै गएको महसुस हुन्थ्यो |

चितवनमा साइकलको फेसन त औधी थियो तेती बेला | घरबाट कलेज यात्रा साइकलमै हुन्थ्यो | अलि परबाट मेरो घर हुदै जाने एकजना केटा थियो | बोल्दिन भन्दा भन्दै पनि बिस्तारै बोलचाल हुन थाल्यो | सधै कुरेर संगै जाने त गरेको थिएन तै पनि संगै हुदा साइकलको स्पीड कम गरेर गफ गर्दै जन्थेउ हामी | फिजिस्कमा धेरै कुरा आउथ्यो उसलाई, तै पनि बायोलोजीको कुरा गर्न खोज्ने गर्थ्यो | उसंग संगै कलेज जान चाही रमाइलै लाग्थ्यो | कोइ मिल्ने केटा नजिकको साथी हुदा पनि रमाइलै लाग्ने रहेछ | मैले आमालाई बिर्सिसकेको रहेछु, एकदिन आमालाई हास्दै कुरा गर्दै आएको देखिन | अनि फेरी सुरु भयो उनको दमन र गालिका शृंखलाहरु | बाहिर केटासंग मस्त कुरा गर्दै हिड्दा के भन्लान अरुले भन्ने तनाब थियो आमालाई | मैले त कुरा मात्रै पो गरेको थिए | खै मलाई चाही आमाले बेस्याकै रुपमा हेर्छिन कि जस्तो लाग्थ्यो कहिले कहिँ त | दाइ र बाबा बोलेर पनि केहि गर्न सक्ने होइनन | कसै संगै बोल्दैमा जवानी सुम्पिदैनन होला नि |

खै मेरो प्रेम थियो थिएन त्यो थाहा छैन तर मेरो कलेज जाने बाटो परिवर्तन भयो, आनी बानि परिवर्तन भयो | खै आमाले आफ्नो जवानीमा के गरिन कस्तो दुख पाइन् केटाहरुबाट, त्यास्तो कस्ट हाम्ले नपाउम भनेर केअर गरेकी पनि होलिन तर उनको बानिले गर्दा आफू भित्रको जवानी तेसै सेलाउदै गएको भान हुन्थ्यो | अहिलेको जस्तो फोन फेसबुक इमेल थिएन तेती बेला बिस्तारै बोलचाल बन्द भयो, उ अर्कै संगै गफिन थाल्यो र म आफु भित्रका ज्वारभाटाहरुलाई सम्हालेर राखीबसे | स्कूलले केटो १० क्लास पछी गायब भयो, यी साथी १२ पछी विदेश पलायन भए रे | १२ पछी एक-डेड साल एता-उता हेर्दा हेर्दै अन्तिममा त्रिचन्द्र क्याम्पसमै जानु पर्ने भयो | जहाँ मैले मेरा अरु ३ जना सहेलीहरुलाइ भेटे | कुरा गर्दै जादा केटीहरुका किशोरअवस्थाका कहानीहरु मेरा भन्दा धेरै कामुक, शृंगारिक, र मनोरम छन् | उनीहरुको घरमा केहि नभन्ने भन्ने त होइन तै पनि पहिले स्पष्टीकरण सोधेर अनि सम्झाउने गरिन्थ्यो |

स्नातकको बीचतिर पुग्दा नितम्ब, वक्ष आदि पूर्ण रुपमा परिपक्क भैसकेको महसुस गर्थे | अब यो भन्दा राम्रो हुने खासै ठाउँ थिएन जस्तो लाग्थ्यो | तर मेरो सुन्दरता त्यासै ओइलाएर जान लागेको भान हुन्थ्यो | मेरा हातहरु कसैलाई बाध्न आतुर थिएनन्, मुख कसैसंग बोल्न खोज्दैनथ्यो, ओठहरु कसैको ओठसंग लिप्त हुने त धेरै परको कुरा थियो | केटिहरुका साना-ठुला किस्साहरु सुन्दा पनि कहिले उत्तेजना भएन ममा | उनीहरुले खाएको चुम्मन मलाई चुइगम खाएको सरह लाग्थ्यो, उनीहरुको प्रेम परिवर्तन भैरह्यो तर म चाही भावबिहिन भएर जीइरहे |

चारै जनाको नाम टि.यू. केन्द्रीय क्याम्पसमा निस्केपछि सबै त्यही पढ्ने भयौ | दोस्रो सालको जांच पछी केटीहरु घरतिर लागे, मपनि घर मै बसेर थेसिस लेख्ने सोचे | घरमा अलि अलि पढेको जस्तो गर्यो, नत्र घरको भान्साको काम, आमालाई दईसंग स्काईपमा बोल्न लगिदियो आदि गर्दै समय बिती रह्यो | अइना हेर्दा छालामा साना-साना चाउरी देखिन थालिसकेका थिए | २३-२४ को छाला र २७-२८ को छालामा धेरै नै फरक हुने रैछ | कोमल छाला चिल्लो हुदै चाउरीदा पनि मेरा यी गालाहरु कसैको स्पर्सका लागि लालाहित थिएनन् | संगैका साथीहरुको बिहे हुदा पनि बिहे गर्न रहर एकरति पनि थिएन मभित्र | संगीनिहरुले आफ्नो यौनरसलीला सुनाउदै गर्दा अलिकति कौतुहलताको महसुस पनि हुन्नथ्यो | आमा भने केटा खोज्नमा लागिपरेकी छिन | राम्री, पोटिली, पढेकी छोरीमा सबै कुरा छ जस्तो लाग्छ उनलाई | तै पनि उनले मेरो रहर र चाहना कहिले बुझिनन् |

एकजना अस्ट्रेलियामा पी.आर भैसकेका केटाको कुरा आएछ, आमाले उसको फेसबुक हेर्न भ्याईसकिछन | केटो राम्रो-खाइलाग्दो नै देखिन्थ्यो | मैले पनि हेरे, अरु बैनीहरुले पनि हेरे | कसैले राम्रो त कसैले के यो नराम्रो त्यो नराम्रो भन्न थाले तै पनि मलाई न केहि राम्रो लग्यो न केहि नराम्रो, आमाले भनिन मैले हेरे | पछी फेसबुकमा एड पनि भइयो, उताबाट पटक-पटक हाइ-हेल्लो म्यासेज आइरहन्थ्यो | मन लागे अलि-अलि कुरा गर्थे नत्र त्यसै सीन गराएर छोडीदिन्थे | पहिले पहिले धेरै नै म्यासेज गरे, पछि कम गर्न थाले अनि कुरा कता आल्जियो कता | आमा कराईन तर यस्तो कुरामा जबर्जस्ति नै गर्ने आँट चाही थिएन उनमा | २७-२८ को उमेरमा पनि लिंगबिहिन भएको झैँ लाग्थ्यो, कहिले कहिँ समलिंगी त होइन भनेको जस्तो पनि लग्यो | तर यो पनि सत्य थिएन | ममा केटाप्रति आउनु पर्ने भावना पूर्णरुपमा मरेको थियो, कुरा तेती मात्रै हो | राम्रो केटा छोड्नु परेकोमा आमाको मन चुकचुकी रहेको थियो | तर छोरीलाइ राम्रो केटा नपाउनेमा उनलाई केहि संका थिएन | अरु जे भए पनि हाम्री आमाले छोरा-छोरीलाइ राम्रो पढाएर स्वभालम्वी बनाउन चाही कुनै कसर बाकी राखेकी थिइनन |

पछी सिंगापुरमा पी.एच.डी गर्दै गरेका केटाको कुरा आयो | फुपूले केटाको घर राम्रो, परिवार राम्रो छ भनेर आमालाई फोटो नै देखाइन | आमाले मलाई देखाइन, अहिलेको केटो पहिले को भन्दा राम्रो त होइन तै पनि देखाएसी हेर्ने पर्यो, मैले फेसबुकमा खोजेर सर्च पनि गरिन | हल्का-काला बर्णका चस्मा लगाउने, डल्ले-डल्ले सगर नामको केटाबाट फेसबुकमा मित्र अनुरोध आयो | फेसबुकमा एड भएसी अलि अलि कुरा भयो, मैले उनका प्रश्नहरुका जवाफ दिए तर मैले केहि सोधिन | कुरा गरेको केहि हप्तामा नै उनि नेपाल आए, कता-कता कुरा हुदै भेट्ने कुरा भएछ | आमाले मलाई भेट्न जा पो भनिन | अहिलेसम्म केटाको १ मिटर नजिक जादा पड्किने आमा अहिले केटा भेट्न जा भन्दा अचाम्मै लाग्यो | मलाई मननै थिएन तर सबैले जा भन्दा म सानो नानुलाइ लिएर भेट्न गए, सिविल मलभित्र | उनि तेही कुर्दै रहेछन | बसेर कफी खाइयो, एकछिन कुरा भयो, उनले पढाइको बारेमा सोधे, अनि एसो अरु साना-तिनी कुराहरु | मैले केहि सोधिन र खासै बोलिन पनि, फोन नम्बर मागे मैले छैन भनेर आलटाल गरे | घर फर्किएसी उनले एकदमै मन पराएको जानकारी आयो, मेरो मन चाही सुन्य नै थियो | सबैले कर गरेसी मैले बिहे गर्दिन भन्न सकिन, सबैलाई खुसि पर्न बिहे हुने भयो | बिहेका लागि म भन्दा मेरा परिवार उत्साहित देखिन्थे, अनि सागर पनि अति उत्साहित थिए | यस्तो लाग्थ्यो कि म नभए सागरले अर्को केटि नै नपाउने हुन् जस्तो | ५०-६० जनाको जन्ती जति लिएर आए इन्जेज्मेंटको लागि, १० दिन पछी बिहे निश्चित भयो | बिहेका लागि सबै किनमेल मै बेस्त थिए, मैले नापो दिने बाहेक केहि गरिन | कहिले कहिँ सगर फोन गर्थे र फोनमा बोल्दिनु मेरो कर्तब्य थियो | २००-३०० जनाको जत्था लिएर आइ मेरो बिहे भयो, दाइले विदेशबाट पठाएको १ सालको कमाई १ दिन मै स्वाहा भयो |

बिहेको कर्म-काण्ड ४-५ घण्टामा नै सकियो, अन्माउने बेलामा आमाचाही रोइन, अरु पनि रोए, मेरो आँखाहरु टिलपिल-टिलपिल भए तर भक्कको छोडेर चाही रुन आएन | ८-१० दिनको फोनमा उनको मिस यू, लुव यू पनि आउथ्यो तर तेस्ले सागरका कुनै भावना ल्याउन सकेको थिएन | सबैले मुखमा बत्ति लगि-लगि मलाई हेरे, आमाले पठाएको सबै सुन एक-एक गर्दै बाढ़े | बेलुकाको १२ बजे तिर सबै काम सकियो | मलाई सुहागरातको उत्साह र डर केहि थिएन, म कुनै केटासंग सुत्न जादै छु भन्ने भान पनि थिएन, थाकेको शरीर, त्यो सजाएर राखेको बिस्तारामा कुना लगेर आफै लम्पसार भयो | उनि अर्कोपट्टि सिरानी चेपेर सुतिरहेका थिए | बुहारी बिहानै उठ्नु पर्छ भन्ने आमाको महबाडीलाइ मध्य नजर गर्दै उठे, परेका सबै कामहरु गरे, जे भए पनि काम सबैले बाडेर नै गर्ने चलन रहेछ, खासै गार्हो भएन | घरमा नयाँ-नयाँ समानहरु टल्किरहेका थिए | सबैमा मेरो माइतीको बासना महसुस गरे | त्यो आगनमा टल्केको निलो नयाँ पल्सरको तेल समेत मेरै माइतीको हो जस्तो लग्यो | आमाले मलाई स्कूटी किन्न कहिले मानिनन्, अहिले नचिनेकालाई बाइकनै पो तेर्साइन |

मेरा बुढा एकदमै मिजासिला थिए | बोलि पनि मिठो थियो र साधारण पनि | बिहेको भोलि पल्टै मलाई घुमाउन सौराहा लगे, नगएको ठाउँ त होइन त्यो तै पनि फेरी गइयो | बुढा मलाई खुसि बनाउन तल्लिन भएर लागेको मैले स्पस्ट बुझ्थे | २ दिन पछि बेलुका सुत्ने क्रममा उनि आलिंगनमा बधिना खोजेको महसुस गरे | उनका औलाहरु मेरा नजिक आउन खोजिरहेका थिए, अचानक मैले रोके | किन रोके मलाई थाहा छैन | एकछिन कुरे मेरो मन परिवर्तन हुन्छ कि भनेर होला, तर भएन अनि अर्कोतर्फ पल्टेर सुते | म एकछिन निदाउन सकिन तै पनि दिन-भरिको थकानले निदाए | यो बिषयमा केहि सोधेनन उनले | अर्को दिन देखि हात उठाउने कोसिस समेत गरेरन |

उनको बिदा सकियो र उनि फर्किन लागे | छोड्न एअरपोर्टसम्म सबै गयौ, उनि हिडे तर मलाई कुनै खालीपनको अनुभव भएन | यो भन्दा नरमाइलो त मलाई दाईलाई छोड्न जादा लाग्थ्यो | मलाई घर बस्न मन लगेर अनि माइत आएर बसे | सागर सधै स्काईपमा अनलाइन हुन्थे, मसंग कुरा गर्न कुरिरहन्थे | कहिले केहि धेरै कुरा बोलेनन्, केहि भूतको बारेमा सोधेनन पनि तर मलाई भित्र देखि बोलु बोलु अझै लागेको थिएन बिहे भएको ३-४ महिनासम्म पनि | बिस्तारै उनको चित्त राख्न भने पनि बोलिरहे | पछी अलि लामो लामो कुरा-कानी हुनथाल्यो, कुराहरुमा शररतीपन पनि बढ्दै गयो | म भित्रको पुरुष-विकर्षण घटिरहेको थियो | २७-२८ कि विवाहित कुमारी थिए म | मन भित्र अलि नयाँ तरङ्गहरु पैदा हुदै थिए | उता उनि मलाई सिंगापुर लाने कागजपत्र ठीक पर्दै थिए |

आजकल उनि मलाई आफ्नो लाग्न थालेको छ, साच्चै मन परेको हो या बुढा भएर मन पराउनु परेको हो मलाई हेक्का छैन | तैपनि उनि राम्रा छन्, मैले भनेको सबै मान्छन पनि | आजकल स्काईपमा समेत अलि अलि तरंगित हुन थालेकी थिए |

बिहेको ७ महिना पछी टिकट आयो | घरको माया लागे पनि मेरो मन चाही सागर भित्र बग्न चाहेको भान हुन्थ्यो | सिल्क ऐरवजमा बसेर पहिलोपल्ट प्लेन छाडी पहिलोपल्ट विदेश पुगे | सिंगापुरको एअरपोर्ट देखेर दङ्ग परे, कहाँको राजाराम कहाँको गन्दे भंडारी भन्या जस्तो रैछ काठमाडौँ र सिंगापुरको एअरपोर्टको फरक | बोर्डिंग गरि लगेज लिई यसो हेर्दा, बाहिर सागर कुरिरहेको देखे, नया चस्मामा अलि ह्यान्डसम देखिएका थिए | कुदेर म भए तर्फ आए तर छुन डराए, मैले तानेर अँगालोमा बाधे, आँखा चिम्म गरेर हातले उनलाई अंगालोमा कसे | सबैको सामु मेरा ओठ उनको ओठमाथि सलबलाईरहेका थिए | मलाई कसैको लाज थिएन | ट्याक्सीमा उनका हात मेरा नितम्बमा ठोकिदै गर्दा मलाई सुहागरातको रहर चढिरहेको थियो, समागनको त्रिस्नाले तड्पाईरह्यो, मन-मनै अलिअलि डर पनि बढिरह्यो |||

कल्पना किरण
October 19, 2015

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.