~शिव प्रकाश ~
रातको उन्मत्तता पिएर
मदोन्मत बाँचेको शहर
दुर्गन्धित ति हरेक साँझहरु
विहानीले पाखाल्न सकेको छैन
साँझका ति टाटा
रातका ति राग
यौवन निचोरिएका अँध्यारोका ति पीडा
बन्दबजारभित्र खुल्ला छ
वाध्यता बाँचेका जीवन
उम्लिएका यौवनका विचित्र विनिमय
यौन नायक-नायिका
मान्छेका आकृतिमा
उठेका नग्न जुलुसहरु
निष्ठुरतापूर्वक निर्वाध
शालिन सभ्यतालाई कुल्चदै
परेड खेल्दै मानवीय सँस्कारमाथि
ढुङ्गा जस्ता नाङ्गा र कठोर मनहरु
सल्बलाउँछन् मौन भाषामा
उदाङ्गो रातको उमङ्ग
निर्वस्त्र आदिम खेलको आनन्द
नाङ्गा शरीरका नवीनतम् अभ्यास
मान्छेले मान्छे पिउने प्यास
मान्छेले मान्छे टोक्ने भोक
निर्लान्त थकान
च्यातिएका कुमारीत्वहरु
भत्किएका कुमारत्वहरु
सहरको शान हो
सहरको मान हो
शहरको अभिमान हो
अँध्यारोभित्र हाँसेको शहर
सहरभित्रको एकल अँध्यारो सम्राज्यभित्र
गिद्धहरुबाट वलात्कृत परेवाहरु
नाजायज चीलहरुको जन्म
सर्प र मुसाको मित्रता
कुकुरहरु विरालाजस्ता
बिरालाहरु ब्वाँसाजस्ता
ब्वाँसाहरु मान्छेजस्ता
मान्छे कुमान्छे जस्ता
कुमान्छे मान्छे जस्ता
मदोन्मत बाँचेको शहर
टँडालमा कोपिएका
काममुद्राका प्राचीन परिचय
सडकका पेटीहरुमा सल्बलाइरहेछ
नाङ्गो अर्वाचीन सभ्यता अहिले
समयको चीरहण
रातहरु स्वयं वेश्यावरण गरिरहेछन्
निरन्तर गरिरहेछन्
धुमिलिसकको वाध्य आँखाहरु
दृश्यवरण गरिरहेछन्
निरन्तर गरिरहेछन् ।
बोस्टन, अमेरिका