पौराणिक कथा : सरण्यू र सूर्य

~जंगबहादुर शाह~

सूर्यपत्नी सरण्यूको उल्लेख ऋग्वेदको मण्डल १०, सूक्त १७ को मन्त्र २ मा मात्र पाइन्छ भने यसै वेदका दसवटा सूक्त यस्ता छन् जसमा सूर्यको मात्र प्रसिद्धि छ। दयानन्द–प्रभावित यस लेखकले वेदको मन्त्र भागलाई मात्र वेद माने पनि अधिकांशतः लोकले ब्राह्मण र उपनिषद्हरूलाई पनि वेद मान्दछ। सूर्योपनिषद्मा सूर्यको स्तुति यसरी गरिएको छ, ‘…सूर्य आत्मा…सर्व छन्दोऽसि’ अर्थात् सूर्यदेव समस्त जड र चेतन जगतका आत्मा हुनुहुन्छ।

सूर्यद्वारा समस्त प्राणीहरूको उत्पत्ति हुन्छ । सूर्यबाट नै यज्ञ, पर्जन्य, अन्न र आत्मा अर्थात् चेतना प्रादुर्भूत हुन्छ ।।३।। हे आदित्यदेव ! हामी तपाईंलाई नमस्कार गर्दछौं। तपाईं नै प्रत्यक्ष कर्मका कर्ता हुनुहुन्छ। तपाईं नै प्रत्यक्ष ब्रह्मा, विष्णु र रुद्ररूप हुनुहुन्छ । तपाईं नै ऋक्, यजुष्, साम र अथर्वस्वरूप हुनुहुन्छ । तपाईं नै समस्त छन्दका प्रत्यक्ष रूप हुनुहुन्छ ।।४।।’

वेदायनको यो कथा स्पष्ट छ । यसलाई विशेष भूमिका वा टिप्पणीको आवश्यकता नै छैन । वैदिकधर्म र पुराकथा अर्थात् पुराणहरूमा सूर्यको महत्व अत्यधिक भएकोले यो कथनिका उनै विश्वम्भर सूर्यलाई समर्पित छ ।
०००
“त्वष्टा दुहित्रे वहतुं कृणोतीतीदं विश्वं भुवनं समेति ।
यमस्य माता पर्युह्यमाना महो जाया विवस्वतो ननाश’

सरण्यूको कथा कहँदा तिनका पिता त्वष्टाको नाम पहिले आउनु स्वाभाविक नै हो । यिनी एक प्रकारले मानवजातिका पुर्खा नै हुन् किनकि यिनकी पुत्री सरण्यू, विवस्वान्–सूर्यकी पत्नीका रूपमा यमज—यम र यमीकी माता हुन् ।

पुराकालमा त्वष्टाको प्रसिद्धि सर्वत्र थियो किनकि तिनी त्यस समयका पार्थिव इन्द्रसँग टक्कर लिने मानिस थिए । तिनले इन्द्रलाई केही समयका लागि भए पनि सोम–वंचित गरेका थिए । तिनी एक कुशल शिल्पी थिए । तिनका हातले सामान्य रचना गरे पनि ति सुन्दर नै हुन्थे । प्राचीन वास्तुशास्त्रका उद्भट आचार्य भएकाले यिनीसँग प्रशिक्षण लिन देव–समाजबाट मानिस आउने गर्थे । त्वष्टाले त्यसै प्रसिद्धि पाएका पनि त होइनन् ।

देवराट् इन्द्रको अमोघ अस्त्र वज्रको निर्माण यिनले नै गरेका थिए र तत्कालीन समाजमा प्रभूत प्रसिद्धि पाउने मानुष शिल्पी ऋभु, बिम्वा र वाज यिनका नै शिष्य थिए । त्यस्ता विश्रुत त्वष्टाका जुम्ल्याहा सन्तान थिए सरण्यू र त्रिशिरा । त्रिशिरा, पछि, विश्वरूपका नामले पहिले देव–पुरोहित र पछि असुर पुरोहित भए । मेधाविनी भएकी हुनाले मातापिता सरण्यूलाई संज्ञा पनि भन्दथे भने तेज दुगुर्नाका कारण लोकले तिनलाई अश्विनी पनि भन्न थाल्यो ।

अन्य मानुषसरह त्वष्टाका सन्तान पनि समय पाएर शिशुबाट किशोर–किशोरी र युवक–युवती भए । कैशोर्य र यौवनको सन्धिकालमा मानुषको स्वर र देहयष्टिमा भएका परिवर्तन स्पष्ट परिलक्षित हुन्छन् । पुरुषको स्वर मोटो हुन थाल्दछ भने नारीको स्वर मृदु हुन जान्छ । पुरुषको शरीर समानुपातिक रूपमा पुष्ट हुन्छ भने नारीका कम्मरको मासु त्यहाँबाट हटेर कुच र नितम्बमा थुप्रिन्छ । फलतः स्त्रीको कम्मर पातलो, पयोधर पीन र नितम्ब स्थूल हुन्छन् । प्रकृतिको शाश्वत नियमअनुसार सरण्यूमा पनि त्यस्तै परिवर्तन भयो । राम्री त तिनी जन्मना थिइन् । झन छातीका दायाँबायाँ भागमा सुन्तलाजत्रा कठोर मासपिण्डको विकास भएपछि, नितम्ब भारी भएपछि तिनको आकर्षणमा झन् वृद्धि भयो ।

युवती सरण्यूमाथि युवकहरूका आँखा गड्न थाले । सरण्यूका आँखा पनि आफ्ना सहचरका खोजीमा यताउता नाच्न थाले । छोरीको त्यस्तो अवस्था देखेर त्वष्टाले पुत्रीलाई अब एक सहचर चाहिएको बुझे । तिनले योग्य जामाताको अनुसन्धान आरम्भ गरे ।सामान्यजनमा वर–वधू खोज्न जति सजिलो हुन्छ त्यस्तो असामान्यजनमा हुँदैन । विश्रुत देवशिल्पीकी पुत्रीसँग विवाह गर्ने योग्य वर पनि त देव वा कमसेकम देवोपम हुनुपर्यो। अनि छोरीको विवाहमा आमाबाबुलाई चिन्ता त हुन्छ नै । कुन्नि कस्तो वर पाउने हो ! विवाहका समय राम्रो देखिए पनि, पछि त्यो वर अर्कैखाले निस्कने हो कि ! सासू–ससुराका अधीनमा परेकी छोरी त्यहाँ सुखी रहन्छे कि रहन्न ! नन्द र देवरको व्यवहार कस्तो रहला !

जे होस्, जोडी त माथिबाट नै बनेर आउँदछन् । बेर–सबेरको कुुरामात्र हो । एक न एक दिन सरण्यूको विवाह हुनु नै थियो, त्वष्टाले पनि चाहेजस्तै जामाताको नाम सुने । तिनको नाम विवस्वान् रहेछ । मरीचिपुत्र कश्यपका पुत्र—काश्यप विवस्वान; दक्षपुत्री अदितिका पुत्र आदित्य विवस्वान् अर्थात् सूर्य–दिवाकर । नाम प्रसिद्ध नै थियो । त्वष्टा पुगे छिटो–छिटो विवस्वान्कहाँ । प्रारम्भिक शिष्टाचार—मधुपर्क र कुशलक्षेमपछि विवस्वान्ले भने— ‘परमादरणीय देवशिल्पीगुरु ! आज यता के कारणले पाल्नुभयो ?’

‘पूरा संसारलाई भास्वर बनाइदिने भगवान् भुवनभास्करका आँखाबाट के लुकेको छ प्रभु ! तैपनि सोध्नुभयो । उत्तर दिनैपर्छ । मेरी पुत्रीको नाम सरण्यू हो । तिनी अतीव सुन्दरी छिन् । हिरण्यकेशराशि, कर्पूरधवल देहयष्टि, उन्नत ललाट, नीरजनेत्र, बंकिमचन्द्र भ्रू, सुन्दर नासिका, किशुक ओष्ठ, हंसग्रीवा, पीनकुचभारअवनत क्षीण कटि, पुष्ट नितम्बा, रम्मोरु…।’

‘अतिथिदेव ! आफ्नी छोरीको गुणानुवाद गर्दै हुनुहुन्छ ! तिनी त्यसभन्दा पनि बढी होलिन् । आशय भन्नुहोस् !’
‘अंशुमाली ! म तपाईंलाई जामाता भनेर गौरवान्वित हुन पाउँछु कि भन्ने आशमा आएको हुँ । झुसेमुसेलाई छोरीले पनि पत्याउँदिनन् ।’
‘ठीकै छ । एकपटक हाम्रो भेटघाट त हुनैपर्छ । तपाईंका वचनउपर विश्वास गरेर मैले तिनीलाई पत्याए पनि, तिनले मलाई पो पत्याउने हुन् कि होइनन्…।’

‘तमिस्रहा–तपन ! तपाईंका कुरा ठीक हुन् । तर, सुजाता सुताले मातापितामाथि विश्वास गर्छन् । जे होस्, हाम्रो समाज भनेको मुक्त समाज नै हो । भावी वर–वधूले एक–अर्कालाई राम्ररी जान्नैपर्छ…।’विवस्वान्ले सरण्यूलाई हेरे । सरण्यूले विवस्वान्लाई आँकिन् । तिनीहरूबीच लामो कुराकानी भयो । सरण्यू सन्तुष्ट भइन् । विवस्वान्ले पनि त्यस्ती स्त्री–रत्नलाई किन छाड्ने । देवऋत्विज् अग्निको साक्ष्यमा दुवैको विवाह धूमधामसँग भयो ।
पतिगेहमा सरण्यूको जीवन बाह्य रूपमा सुखमय नै रह्यो ।

समय आएपछि सरण्यूले एउटा युग्म जन्माइन्— एउटा छोरा र अर्की छोरी । छोरो अग्रज थियो । आमाबाबुले तिनका नाम यम र यमी राखे । कालान्तरमा यिनी यम प्रतिभामा अप्रतिम भए र तिनको न्यायप्रियताका कारण लोकले तिनलाई धर्मराज भन्न थाल्यो ।समय बित्दै गयो । सरण्यू र सूर्यमा प्रेम बढ्दै गयो । तर, सूर्यको दुर्धर्ष तेजका कारण सरण्यू सधैं आहत भइरहिन् । नानीहरू अलि साना हुँदा सरण्यूले अलि त्राण पाएकी थिइन् । तिनीहरू ठूला भएपछि सूर्य पनि अलि बूढा भएका कारण अलि शिथिल हुनुपर्ने हो तर, त्यहाँ त उल्टो हुन थल्यो । उमेरका साथसाथै सूर्यको तेज पनि तिखारिँदै गयो । परिणामतः सरण्यूले सूर्यतेजको पीडा सहिरहनु पर्यो ।

सहनु त सहनु तर कति दिन ? कुनै कामको पनि सीमा हुन्छ । आनन्दलाई पनि एक सीमासम्म भोग गर्न सकिन्छ । त्यसपछि त्यो पनि दुःखमा परिणत हुन्छ । मैथुन गर्दा, रज–वीर्य उत्सर्जनको बेला चरमसुखको अनुभूति हुन्छ । पहिलो पटकपछि अर्को पटक त्यस्तै अनुभूति निकै बेरमा हुन्छ । तर, चरमसुख पाइन्छ भनेर रतिक्रियामा अति गर्न थाले त्यस्तो सुख, दुःखमा परिणत हुन जान्छ । दुर्धर्ष वीर्यवान् पुरुषलाई त धेरै फरक नपर्ला तर, घर्षित–मर्दित हुने जायाले त धेरै पीडा सहनुपर्छ । धेरै गुलियो भयो भने त्यसमा कीरा पर्छ । सरण्यूसँग पनि त्यस्तै हुन थाल्यो । कामाचारजनित पीडा असह्य हुन थालेपछि तिनले देवहरूका सहायताले आफैंजस्ती एउटी राम्री स्त्री ‘सवर्णा’ खोजेर ल्याइन् । तिनलाई आफ्नो घरका कामकाज सम्झाइन् । विवस्वान्का आवश्यकता र आनीबानीबारे बताइन् र आफ्ना जुम्ल्याहा सन्तान यम र यमीको राम्रो हेरचाह हुने प्रबन्ध मिलाएर तिनी त्यहाँबाट ‘घोडी–समान’ भागिन् ।

लोक–कल्याणका लागि दिनभरि हिँडिरहने विवस्वान्ले सरण्यूको ठाउँमा अर्की स्त्री आएकी, त्यति खेर त थाहा नै पाएनन् । तिनी सदाकाझैं आफ्नी सहचरीका साथ गृहस्थधर्ममा लागिरहे । सूर्यको जुन असाध्य तेजका कारण सरण्यूलाई भाग्न विवश गर्यो, त्यस्तो तेज स्थानापन्न स्त्री सवर्णालाई सहन गाह्रो भयो । तर, के गर्ने ! देवताहरूका आदेशले आएकी, अग्रजाद्वारा खटाएकी विवश नारीले जति दुखे पनि सहनुबाहेक अन्य कुनै उपाय नै थिएन ।
कालान्तरमा ती स्थानापन्न नारीले पनि एउटा पुत्र जन्माइन् जसलाई लोकले सावर्णि मनु भनी चिन्यो । यिनी, विवस्वान् अर्थात् सूर्यका पुत्र, मनु वैवस्वत नै मानव जातिका प्रथम पूर्वज भए ।

सरण्यूको स्थान ओगटेकी सवर्णाले आफ्नो क्षमताले भ्याएसम्म अग्रजा–सन्तति यम–यमी र मनुको स्याहार–सुसार, पालन–पोषणमा कुनै फरक गरिनन् । तर, विमाताले जति गरे पनि लोकले स्तुति गर्दैन । त्यस्तै सूर्यसदनमा पनि हुन थाल्यो । लोकबाट जस नपाएकी तिनको व्यवहारमा पनि परिवर्तन आउन थाल्यो । यम–यमी तिनीबाट टाढिन थाले ।

सुस्त–सुस्त घरमा कलहले विकराल रूप लिन थाल्यो । कुनै कुरामा रिसाएर एक दिन यमले विमाता सवर्णालाई लात्तीले हाने । विमाताले पनि निहुँ पाइन् । तिनले यमको खुट्टा भाँचिदिइन् । दिनभरिको हिँडाइ गरेर राति घर फर्किएका श्रान्त–क्लान्त विवस्वान्ले कुरा बुझेर भने, ‘सवर्णा ! रूपरंगमा सरण्यूजस्ती भएर पनि तिमी सरण्यू हुन सक्तिनौ । तिमीले सपत्नीका सन्तान र आफ्नो सन्तानमा फरक नगर्नुपर्ने हो । काखा–पाखाको तिम्रो व्यवहार मैले देखेर पनि नदेखेको जस्तो गरेँ यतिका दिनसम्म । मेरो सोझोपनको गलत अर्थ लगाएर तिमीले मेरा धर्मात्मा र न्यायप्रिय पुत्रको खुुट्टा नै भाँचिदियौ । अति भयो । अब तिमी यहीँ राज गर । म हिँडे आफ्नी प्रेयसी सरण्यूलाई खोज्न…।’

सरण्यूको खोजीमा विवस्वान्, गिरि–कन्दरा, वन–उपवन, नदी–निर्झर, कहाँ–कहाँ पुगेनन् ! उत्तमजनले आरम्भ गरेको काम फच्चे नहोउन्जेल छाड्दैनन् । विवस्वान्ले पनि सरण्यूको अनुसन्धानमा कमी गरेनन् । त्यो पनि एक प्रकारको तप थियो । कुनै वस्तु वा ध्येय प्राप्तिका लागि अनवरत प्रयत्नशील हुनु नै तप हो । ढिलो–चाँडो जहिले भए पनि तपस्या अवश्य फलीभूत हुन्छ । विवस्वान्को तपले पनि फल दियो । चरन वै मधु विन्दति—सक्रिय व्यक्तिलाई नै मधु प्राप्त हुन्छ । सूर्यले आफ्नी परिणीता पत्नी, मधुवर्षिका मायालु सरण्यू उर्फ संज्ञा वा अश्विनीलाई एउटा सुरम्य गिरिप्रदेशमा देखे ।
प्रेयसी–पत्नीलाई देख्नासाथ तिनी अश्वगतिले त्यतातिर दुगुरे। सरण्यूको सान्निध्यमा पुगेर तिनले प्रगाढ आलिंगन गर्दै पत्नीका ओठ चुस्न थाले । त्यसो गर्दा तिनको तेज उत्तेजित भएर भुइँमा झर्यो । अश्विनी नामधारिणी सरण्यूले सूर्यतेजलाई त्यसरी स्खलित भएको देखेर त्यसलाई घोप्टो पारेर सुँघिन् । विवस्वान्–वीर्यको गन्ध तिनको नाकमा परेपछि तिनी पनि काम–विह्वल भइन् । पत्नीलाई त्यसरी कामातुर देखेपछि विवस्वान् तिनीमाथि आरूढ भए । वर्षौंपछि पतिसँग समागम गर्न पाएकी सरण्यू वा अश्विनीले गर्भधारण गरिन् ।

समय आएपछि तिनले जुम्ल्याहा पुत्रहरू उत्पन्न गरिन् । पुत्रोत्पत्तिमा सुँघ्ने नाक पनि एउटा कारक तत्व भएकाले ती शिशुहरूलाई नासत्यौ भनियो भने सरण्यूको अर्को नाम अश्विनी भएकाले तिनीहरू अश्विनीकुमार पनि कहलिए । सरण्यूको कथा त समाप्त भयो तर कथाको आरम्भमा दिइएको वेदमन्त्रको अर्थ के त ? त्यो पनि जानिहालौं । अर्थ यस्तो छ, ‘त्वष्टादेव आफ्नी छोरीको विवाह गर्नेवाला छन् । त्यसकारण सारा जगत् त्यहाँ आयो । जुन बेला विवस्वान्का साथ यमकी माताको विवाह भयो, त्यस समय विवस्वान्की महान् पत्नी अदृश्य भइन् ।’
ऋग्वेदको मण्डल १० को सूक्त १७, मन्त्र १ को यति अर्थले त पूरा कथा कहन्न । अतः मन्त्र २ को पनि अर्थ जानौं—‘अमर सरण्यूलाई देवहरूले मानवका लागि लुकाएर राखे । सरण्यू–सदृश अर्की स्त्रीको निर्माण गरेर देवहरूले विवस्वानलाई दिए । त्यसपछि त्यहाँ उपस्थित सरण्यूले अश्विनीलाई गर्भमा धारण गरिन् र दुई जुम्ल्याहा— यम–यमी र अश्विनी कुमारहरूलाई जन्म दिइन् ।’

‘नासत्यौ’ शब्दले दुईजनाको अलग–अलग नाम त बताउँदैन । अनि अश्विनीकुमारको अर्थ अश्विनी अर्थात् घोडीको पुत्र अथवा अश्विनी नाम्नी कुनै स्त्रीको पुत्रमात्रै हुन्छ । के सरण्यूका जुम्ल्याहा छोराहरू नामहीन थिए त ?कुरा त्यसो होइन । अश्विनीकुमार वा नासत्यौका नाम पक्कै पनि थिए । तिनका नाम जान्नका लागि हामीले शौनककृत ‘बृहद् देवता’ को अवगाहन गर्नुपर्छ । त्यस ग्रन्थको अध्याय ७ को श्लोक संख्या ६ ले बताउँछ।

‘तब त्यस शुक्रबाट, जो त्यसै बखत सुँघिएको थियो, दुईजना कुमारहरू— ‘नासत्य’ र ‘दस्र’ प्रकट भए जसको स्तुति अश्विनहरूका रूपमा गरिन्छ ।’
यसरी महर्षि शौनकले हामीलाई बताए कि विवस्वान् अर्थात् आदित्य सूर्य र त्वष्टापुत्री सरण्यूद्वारा उत्पन्न गरिएका ती शिशुहरूका नाम नासत्य र दस्र थिए । यिनी अश्विनीकुमार वा अश्विद्वय वा नासत्यौ कालान्तरमा देवजातिका वैद्य भए ।

सोमवार, असोज १७, २०७३

(स्रोत : अन्नपूर्ण पोस्ट – फुर्सद)

This entry was posted in पौराणिक कथा and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.