~केशव शिलवाल~
सुपारीझैँ टुक्रा पारेर जीवनलाई
बेचिरहेछन् नाङ्लेपसलेहरू
यही फुटपाथमा
गाइनेहरू गाइरहेछन्
शताब्दीको अन्तिम गीत
यही फुटपाथमा
यही फुटपाथमा उभिएर
कुरिरहेछौँ हामी अझै पनि भाडाको लोकतान्त्रिक गाडी
कहिले आउँछ त्यो ?
सायद बित्छ कि यो युग नै ?
यही फुटपाथमा भेटिन्छन्
नयाँ आइन्स्टाइन, भूपी र देवकोटाहरू
घाम यहीँ छ
यहीँ छ पानी
आँसु र हाँसोको मिश्रण
फुटपाथ-
पृथ्वीको एउटा आँगन
हाम्रो संसार
जन्मस्थान जस्तो
यही फुटपाथलाई चटक्क बिर्सिएर
कहाँ अन्तध्र्यान भए तिनीहरू ?
सडकैभरि
छरिदिएछन् अस्रल्लै तिनीहरूले
जतनसाथ हामीले पठाएका
सपनाका दानाहरू
छरिएका सपनाहरू टिप्न
घोप्टो परिरहेकी छिन्
एउटी सहिदपत्नी
र उनको आङमाथि चढिरहेछ
एउटा उच्छृङ्खल घाम
यही फुटपाथमा उभिएर
गफिन्थे कुनै समय तिनीहरू
मकै भटमास टोक्थे
र छोडाउँथे बदाम
भेटिरहन्थ्यौँ बारम्बार
हात मिलाउँथ्यौँ
र हाँस्थ्यौँ मुसुक्क दुःखसुखमा
बाँडेर खान्थ्यौ रोटीको टुक्रा
कहाँ पुगेछन् तिनीहरू अहिले ?
के तिनीहरूलाई निल्यो अदृश्य बर्मुडाक्षेत्रले ?
या पसे तिनीहरू ब्ल्याक होलभित्र ?
हामी –
लगातार उस्तै
अझै पनि उभिएका छौँ फुटपाथमा
ठेलमठेल ।
(स्रोत : मधुपर्क २०६८ कार्तिक)