~डा.मधु माधुर्य~
१
बुढानीलकण्ठमा विष्णुलाई नागमाथि विराजमान देख्छु
नागलाई महादेवको गलामा बेरिएको देख्छु
कतै क्लेओपाट्राको चुल्ठोमा पनि देख्छु…
जब-जब विशिष्ट सम्मानहरुको यो इतिहासबाट प्रेरित हुन्छु म
वात्सल्य ममताको दूध र्सपहरुलाई आफ्नै हातले पिलाउँछु म
तिनै सर्पहरुले फणा उठाउँदा –
सगरमाथा पनि हिजोआज
होचो देखिन थालेको छ !
तिनै सर्पका प्रेमालु ठुँगाईबाट शहीद हुनेहरु
संयमताको प्रदर्शनमा बुद्ध झैं मौन छन्
जब-जब साँपहरु अस्तित्व देखाउन हरियो घाँसमाथि उठ्छन्
अग्ला-अग्ला हिमश्रृंखलाहरु पनि होचा देखिन थालेका छन् ।
२
महिनैपिच्छे हरियो घाँस दिएर पालेको छाडा बसाहा –
पशुपतिनाथको जस्तो समाधिस्थ होइन, निकै चुलबुले छ
सहरको शोभा सम्झनेहरुलाई पनि कलात्मक आकृति झैं भ्रम छ
पुच्छरले काउकुति लगाउँदै खुरले दबाउने बसाहा –
जब-जब काम देखाउन तीखो सिङ लिएर डाँडामा बुद्रुक-बुद्रुक उफ्रन्छ
सगरमाथा पनि हिजोआज
होचो देखिन थालेको छ ।
३
बसाहा र साँपहरुको जंगलमा छु म
त्यसैले त निलडाम र घाउहरुले सजिएको छु
शताब्दीका पानाहरुमा जीवनको परिभाषा बदलिएको छ
टुलुटुलु अवलोकन, सहन र मौनतामा जीवन रोकिएको छ
अर्थात् कविता रोकिएको छ र थिचिएको छ
कविता छेकिएको छ र अस्वीकृत छ
कविता लेखिनु नलेखिनुको एउटै अर्थ छ
कविता सबैतिरबाट छेकिएको छ, पुरिएको छ
त्यसैले कविता-लेखनको नयाँ आन्दोलन सुरु गर्दैछुः
अझै नकुच्चिएको फणामा कविता लेख्दैछु
अझै नभाँचिएको सिङमा कविता लेख्दैछु
अस्तित्व देखाउन डाँडाहरुमा
जब-जब बसाहा र साँपहरु उठ्ने छन्
मान्छेका कविताका सामुन्ने
हिमश्रृंखलाहरु पनि होचा देखिन थाल्नेछन् !!
२ जून २००८ मास्को, रुस