~त्रिभुवनचन्द्र वाग्ले~
मैले पिएको जाँडले
साँझ चुलोमा कफर्यू लाग्नसक्छ
छोराको स्कुलको पोशाकले
आज घरमा हड्ताल गर्नसक्छ
श्रीमतीको भग्नावशेष हृदय
कविताको पारिश्रमिकले
जीर्णोद्धार गर्ने गरेको छु
विदेशी बन्दुकमा बारुद भर्दाभर्दै
छोरीले गाएको राष्ट्रगीतको याद आयो
मेरो स्वाभिमानको सगरमाथा
कैयनपटक
अभिमानी पाइलाले कुल्चिसके
(अभिमान : अभाव, अभिमान : पर्वतारोही)
(नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानबाट कविता पूर्णाङ्क ४३ मा प्रकाशित)
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )