~सोम खनाल~
मैले भने आकासबाट जुन टिपी ल्याइदिन्छु
तिम्ले भन्यौ मन छुने एउटा गीत् गाइदिन्छु
मैले भने रगतले तिम्रै नाम लेखिदिउकी
तिम्ले भन्यौ नयनमा पर्ने घाम छेकिदिउकी ।
मैले भने तिम्रो नीम्ति मर्न पनि तयार हुन्छु
तिम्ले भन्यौ बचाउन जे गर्न नि तयार हुन्छु
मैले भने तिमीलाई सन्सार कै खुशी दिन्छु
तिम्ले भन्यौ मेरो सामु सधैं सधैं हासी दिन्छु ।
मैले केवल भवनाका जालाहरु बुनिरहेँ
तिम्ले सधैं सौम्यताका मालाहरु उनिरह्यौ
मैले फगत तिम्रो सामु मुखले मात्र ठीक्क पारें
पीरतीको दौडमा प्रिय तिम्ले जित्यौ मैले हारेँ ।
मैले भने सयौ जूनी केवल तिम्रै साथ दिन्छु
तिम्ले भन्यौ यै जूनीमा भर पर्दो हात दिन्छु
मैले भने तिम्रो पाऊँ धरतीमा पर्न दिन्न
तिम्ले भन्यौ चोखो माया कसै गरि मर्न दिन्न ।
मैले भने तिम्लाइ पाउदा संसार नै पाएको छु
तिम्ले भन्यौ जिन्दगी लाई ओत दिन आएको छु
मैले भने तिम्रो नीम्ति ताजमहल बनाइदिन्छु
तिम्ले भन्यौ यै घरलाई ममताले सजाइदिन्छु ।
मैले केवल कल्पनामा आकास पताल जोडिरहे
तिम्ले सधैं प्रणयको आँकुरालाई गोडिरह्यौ
मैले फगत तिम्रो सामु मुखले मात्र ठीक्क पारें
पीरतीको दौडमा प्रिय तिम्ले जित्यौ मैले हारेँ ।
– December 25, 2010
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)