~अरुणबहादुर खत्री “नदी”~
दिनेश अधिकारी नेपाली कविता काव्य क्षेत्रमा चर्चित नाम गरेका व्यक्ति हुन् । २०३७ सालमा अन्तरका छिटाहरु –कविता सङ्ग्रह) पहिलो कृति लिएर साहित्याकाशमा उदाएका अधिकारीको निरन्तर सक्रियताले सीमान्त सपना नामक कविता सङ्ग्रह २०६७ सालमा साझा प्रकाशनले प्रकाशित गरेको छ । यस कृतिभित्र भोक, निलो बह, तिमी को हौ ? लिजा म असाध्यै डरपोक छु, खै के भएको हो यो समयलाई ? लगायत विभिन्न शीर्षकका ५१ वटा कविताहरु राखिएका छन् । यस सङ्ग्रहभित्रको भोक शीर्षकको पहिला कवितामा म त भोक खप्न नसकेपछि आफ्नै शरीरको मासु लुछेर आफ्नो भोक मार्ने भैरवलाई पूजा गर्ने मान्छे भनिएको छ । नीलो बह शीर्षकको कवितामा देश, झण्डा, कानुन र सरकार एउटै हो भन्नुहुन्छ तर हामी आकाश–पाताल जस्तै फरक छौं भनिएको छ ।
खै के भएको हो यो समयलाई ? शीर्षकको कवितामा अखबार मेरो अगाडि छ र म भने धेरै बेरदेखि टिपूँ कि नटिपूँको दोधारमा परैबाट त्यसलाई हेरिरहेछु कवि एवं गीतकार अधिकारी लेख्दछन् । यस सङ्ग्रहभित्रका कुनै कविता लामा छन् भने कुनै कविता छोटा छन् । प्रायः कविताले कविमनमा देशको अवस्थाप्रति चिन्ता देखाएका छन्, मानवीय प्रेममा संवेदना भरेका छन् स्वतन्त्रताको पक्षमा चेतनाको लहर फैलाएका छन् । कवि एवं गीतकार अधिकारी सामाजिक समस्या, विकृति विसङ्गतिप्रति तीब्र व्यङ्ग्य गर्दै सुधारको अपेक्षा गर्दछन् । मेरो जन्म शीर्षकको कवितामा म जन्मेको क्षण, फेरि कहिल्यै पुनर्जन्म नलिने गरी मेरा लागि ईश्वर मरेको छ एउटा यस्तो विश्वास मेरो जीवनले आर्जन गरेको छ भनिएको छ । यस सङ्ग्रहभित्रका प्रायः जसो कविताहरु विभिन्न पत्रिकाहरुमा प्रकाशित भैसकेका छन् । दौराको बाहुला र फेरले बिरामी सिँगान पुछ्दापुछ्दै नाकभरि कटकटिएर आफ्नै सासमा गनाएको छ जुम्ला जुम्ला शीर्षकको कवितामा भनिएको छ । विगत २०५४ देखि २०६५ सालसम्म रचिएका कविता सङ्कलित यस कृतिले अधिकारीको कवित्वचेतना र सिर्जनभूमि जुरुक्कै उचालेको छ । अधिकारीका कविताले गरिबी र मानवीय विवशता जस्ता सामाजिक असमानताप्रति चेतना उजागर गर्दछन्, विकृति र विसङ्गति माथि व्यङ्ग्य प्रहार गर्छन् । प्रकृति प्रेमलाई अनुभूतिमा सँगालेर भौगोलिक सौन्दर्य वर्णन गर्न सक्ने अधिकारीका कविताले मानवमनका आरोह अवरोहसँगै मानवता र मानवीय प्रेम झल्काएका छन् । अधिकारीका कवितामा कतै देश दुखेको छ भने कतै राजनीतिक, सामाजिक, वैयक्तिक र नागरिक स्वतन्त्रताको स्वर उरालिएको छ ।
एउटा सेतो सिंह अहिले मेरो सहरमा बास बसेको छ सेतो सिंह स्वभावैले मांसाहारी हो र पनि यसले आफ्नो लागि आफै पनि सिकार गर्दैन सेतो सिंहलाई खाने आहार अर्काले बन्दोबस्त गरिदिनु पर्छ सेतो सिंह शीर्षकको कवितामा कवि अधिकारीले लेखेका छन् ।
मित्र हुन् भने
सुख र दुःख दुबै
समान रुपमा मान्छेका मित्र हुन्
होइन र शत्रु नै पहिल्याउने हो भने
सुख र दुःख
फेरि पनि
समान रुपमा मान्छेका शत्रु हुन् ।
अक्षरहरुको सिकार शीर्षकको कवितामा जरसाहेबको ढोकामा उभिएको सिपाहीभन्दा कुनै पनि अर्थमा कम आज्ञाकारी छैनन् अक्षरहरु मेरा लागि आगोमा पौडन तयार छन् पानीमा दौडन राजी छन् चौबीसै घण्टा भोक तिर्खा बाधेर पहरा दिदै रातभरि गौंडा–गल्छेडाहरुमा जाग्राम बस्न पनि तयार छन् कविले लेखेका छन् ।
समय बित्दै जाँदा
अन्ततः शासन बदलियो
र, बदलिएको शासनमा
त्यसबेला मर्नेहरु सहित कहलिए ।
आपसमा कसरी मिलेर बस्नुपर्छ भन्ने कुरा मान्छेले पहाडसँग सिक्नुपर्छ पहाडको गुण कवितामा लेखिएको छ कवि अधिकारीले लेखेका सबै कविता स्वतन्त्रताका गीत हु । सबै स्वतन्त्र विचारका, मुक्त समाजको खोजीका मुक्तिका । उनी स्वतन्त्रको लामो सङ्घर्षमा उत्रे ।
के तिमीलाई मेरो माया लाग्दैन ?
लाग्छ भने
सर्वत्र तिमी नै तिमी छाइरहेको बेला
भन १ किन यसरी
म, तिम्रो अगाडि हराउन थालेको छु ?
यस कविता सङ्ग्रहको मूल्य रु.१७५।– राखिएको छ भने पृष्ठ संख्या ११८ छ ।
– सामाखुसी मार्ग, ९३५/५४,
काठमाडौं (नेपाल)